स्विजरल्यान्डमा बन्दुकको कानुनमाथि जनमत संग्रह

प्रकाशित मिति:

जेनेभा, एजेन्सी- युरोपेली संघको कानुनको नक्कल गर्ने प्रयास स्वरूप स्विजरल्यान्डका मतदाताले बन्दुकको कानुनलाई कडा बनाउने पक्षमा समर्थन जनाउन सक्ने पछिल्लो मत सर्भेक्षणले देखाएको छ। सो सर्भेक्षणले आइतबार यस विषयमा सम्पन्न जनमत संग्रहमा स्वचालित र अर्धस्वचालित बन्दुकमाथि कडा कानुन बनाइनुपर्ने भन्ने मतदाताको संख्या ६७ प्रतिशत हुने जनाएको छ।
स्विजरल्यान्ड युरोपेली संघको सदस्य राष्ट्र होइन। तर, यदि जनमत संग्रहको नतिजा कडा कानुन नबनाउने पक्षमा गएको खण्डमा खुला सीमाना क्षेत्र स्केन्जेनबाट पछि हट्ने निर्णय स्विजरल्यान्डले लिन सक्ने बताइएको छ। स्विजरल्यान्डमा लामो समयदेखि सबैले साथमा बन्दुक राख्न पाउने प्रावधान रहँदै आएको छ। झन्डै ४८ प्रतिशत परिवारसँग त्यहँँ बन्दुक रहने गरेको छ। बन्दुकमाथिको निजी स्वामित्वको यो दर पूरै युरोपमा बढिरहेको मानिन्छ।

सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएका आतंककारी आक्रमणहरूपछि युरोपेली संघले आफ्नो सदस्य राष्ट्रहरूलाई बन्दुक बोक्ने कानुन अझै बढी कडा बनाउन आग्रह गरेको थियो। यदि पारित भएको खण्डमा यस नयाँ कानुनअनुसार स्वचालित तथा अर्धस्वचालित राइफलको प्रयोगलाई कडा बनाइनुका साथै तिनीहरू राष्ट्रिय डाटाबेसमा सजिलै पहिचान हुने गराइनेछ। युरोपेली संघको यस्तो कडा कानुनको प्रस्ताव स्विजरल्यान्डमा आलोचित भएको थियो। किनभने यदि सो कानुन मान्ने हो भने पूर्वसैनिकहरूले आफ्नो साथमा परम्परागतरूपमा राख्दै आएका एसल्ट राइफल पनि प्रतिबन्धित हुनेछ।

स्विस अधिकारीहरूले बन्दुक साथमा राख्न पाउने सम्बन्धमा छुट दिलाउने वार्ता पनि अघि सारेका थिए। तर, केही बन्दुक अभियन्ताले भने यस्ता नियम कानुनले नागरिक हकलाई ठेस पुयाउने बताएका छन्।