नवराज लम्साललाई ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान’

प्रकाशित मिति:

२०औं चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ, नेपाल हेटौंडा शाखाले ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट वरिष्ठ सञ्चारकर्मी तथा कवि डा। नवराज लम्साललाई सम्मान गरेको छ । मंगलवार हेटौंडामा आयोजित एक कार्यक्रमका बीच संघले उनलाई ११ हजार १ सय ११ रुपैयाँ नगद राशीसहित सम्मान गरेको हो ।

सोही अवसरमा संघको हेटौंडा शाखाले यस वर्षको ‘चलचित्र पत्रकारिता पुरस्कार २०७६’ बाट पत्रकार रोशन पराजुलीलाई पुरस्कृत गरेको छ । पराजुलीलाई ५ हजार नगद राशीसहित पुरस्कृत गरिएको हो । संघले मकवानपुरबाट राष्ट्रिय स्तरमा फिल्म क्षेत्रमा सक्रिय रहँदै आएका फिल्मकर्मीलाई पनि सम्मान गर्दै आइरहेको छ ।
यस वर्ष द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्कीलाई चलचित्रकर्मी सम्मान २०७६ु बाट सम्मान गर्ने निर्णय गरेको थियो । तर, उनी पारिवारिक समस्याले कार्यक्रममा उपस्थिति हुन सकेका थिएनन् । उनलाई चाँडै एक कार्यक्रमका बीच सम्मान प्रदान गरिने संघका अध्यक्ष मणिराज गौतमले बताए ।

संघका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । अध्यक्ष गौतमले चलचित्र क्षेत्रको विकासमा मोफसलमा बसेर विभिन्न सञ्चारमाध्यममा क्रियाशिल पत्रकारहरुको पनि ठूलो योगदान रहेको चर्चा गरे ।