काउन्सिलर लक्ष्यबहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयर निर्वाचित

प्रकाशित मिति:

शिब भण्डारी लन्डन । काउन्सिलर लक्ष्यबहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयर निर्वाचित भएका छन् । लन्डन बरो अफ बार्नेटको मंगलवार बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा निर्विरोध निर्वाचित गरेको हो। सोहि बैठकले काउन्सिलर क्यारोलिन स्टकलाई मेयरको पदमा निर्वाचित गरेको थियो । यसै गरी कन्जरभेटिभ पार्टीबाट निर्वाचित काउन्सिलर डेनियल टोमस बार्नेट काउन्सिलका नयां नेता चुनिएका छन्।

बार्नेट काउन्सिलले काउन्सिलरहरु मध्येबाट हरेक वर्ष नयां मेयर र उपमेयर चुन्ने गर्दछ । झन्डै चार लाख जनसंख्या भएको बार्नेट ब्रिटेनको सबैभन्दा बढी जनघनत्व भएको काउन्सिल पनि हो । उपमेयरमा निर्वाचित भए पछि सबैलाई धन्यवाद दिंदै गुरुङले भने, “मेरो मुख्य प्राथमिकता नेपाली समुदाय र बार्नेट काउन्सिलबीच सम्बन्ध बलियो बनाउनु हुनेछ । मैले उत्तरपश्चिम लन्डनमा बसोबास गर्ने नेपाली समुदायको लागि एउटा सामुदायिक केन्द्र उपलब्ध गराउने बारे प्रयास गर्नेछु । बेलायतको सबैभन्दा ठूलो तथा सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट पहिलो भूतपूर्व गोर्खा उपमेयर हुन पाउंदा म गौरवान्वित र सम्मानित भएको ठानेको छु ।

ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजबाट सेवानिवृत्त गुरुङ सन् २००५ देखि सपरिवार बेलायतमा बसोबास गर्दै आएका छन् । उनकी श्रीमती शोभा, दुइ छोरी र एक छोरा छन् । उनी गत वर्ष कन्जरभेटिभ पार्टीको उम्मेदवारको रुपमा बार्नेट काउन्सिलको हेल वार्डबाट काउन्सिलर पदमा निर्वाचित भएका थिए।  बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष गुरुङ नेपाली समुदायलाई उनले पुराएको सेवाको कदर स्वरुप बार्नेट सिभिक अवार्ड बाट सम्मानित पनि भएका थिए ।london nepal bata