अगरबत्तीको धूवाँ चुरोटको जत्तिकै हानिकारक हुने

प्रकाशित मिति:

काठमाडौं – हिन्दू परिवारमा अगरबत्तीको ठूलो महत्त्व छ । अगरबत्तीले आध्यात्मिकता मात्र दर्शाउने नभई शान्ति र समृद्धि पनि दर्शाउँछ ।सुगन्धले मानिसलाई भित्रैबाट शान्त बनाउँछ । तर वैज्ञानिकहरूका अनुसार, अगरबत्तीको धूवाँले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।

सन् २०१५ मा स्प्रिंगर्स जर्नल इन्भायरोन्मेन्टल केमिस्ट्री लेटर्समा प्रकाशित एक चिनियाँ अध्ययनले अगरबत्ती र चुरोटको धूवाँको तुलना गरेको थियो । अगरबत्तीमा थुप्रै खतरनाक रसायनहरू पाइने अध्ययनको निष्कर्ष छ । त्यसमा प्रयोग हुने केही रसायन त चुरोटमा समेत भेटिन्छ ।अध्ययनका अनुसार, हावा नचल्ने ठाउँमा अगरबत्ती बाल्दा डीएनएमै परिवर्तन आउन सक्छ । यसमा म्युटाजेनिक, जेनोटक्सिक र साइटोटक्सिक जस्ता हानिकारक टक्सिनहरू हुने र त्यसले क्यान्सर तथा फोक्सोको रोग लाग्ने अनुसन्धानकर्ताहरूले पाए ।

अगरबत्तीको धूवाँ फोक्सोमा अड्किने र यसले फोक्सो सुन्नाउने अध्ययनको निष्कर्ष छ । यसमा भएका पार्टिकलमा ६४ वटा तत्त्व हुनाले श्वासनलीमा समस्या आउन सक्छ ।अगरबत्तीमा भएका सूक्ष्म कणले शरीरलाई हानि गर्न सक्ने अध्ययनले देखाएको छ ।अनुसन्धानकर्ताहरूले अगरबत्तीको प्रयोग ध्यानपूर्वक गर्न आग्रह गरेका छन् । चुरोटको धूवाँ जत्तिकै खतरनाक यो धूवाँ हुन्छ । यसको साटो बाटेको धूप प्रयोग गर्नु उचित हुन्छ ।