भारतीय चुनाव : शुरूवाती चरणमा नरेन्द्र मोदीलाई स्पष्ट बहुमतको संकेत

प्रकाशित मिति:

बुटवल – भारतमा सम्पन्न लोकसभा निर्वाचनको मतगणनाको शुरूवाती रुझानमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) को गठबन्धनले स्पष्ट बहुमत ल्याउने संकेत देखिएको छ । आज बिहीवार लोकसभा निर्वाचनको मतगणना हुँदैछ । देशभर ५४२ निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ ।

हालसम्म सार्वजनिक भएका ४०८ निर्वाचन क्षेत्रको प्रारम्भिक मतगणना अनुसार सत्तारुढ भाजपाले २६१ क्षेत्रमा अग्रता लिएको छ भने विपक्षी भारतीय कांग्रेस ७५ र अन्य दलले ७२ क्षेत्रमा अग्रता लिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मतगणनाको शुरूवाती रुझानमा भारतीय जनता पार्टीले अग्रता लिएको छ । प्रारम्भिक नतिजाले नै अन्तिम नतिजा प्रष्ट पार्ने नभएपनि नतिजाको संकेत भने दिने गरेको छ । विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीको ‘चेहरा’को रुपमा हेरिएका कांग्रेस अध्यक्ष राहुल गान्धी आफ्नो क्षेत्रमा पछाडि परेका छन् । भाजपा उम्मेदवार तथा पूर्वमन्त्री स्मृति इरानीले गान्धीलाई ५ हजार मतले पछाडि पारेकी छन् । यसअघिको निर्वाचनमा गान्धीले इरानीलाई पराजित गरेका थिए । लोकसभा निर्वाचन ७ चरणमा सम्पन्न भएको थियो ।