रविन्द्रको मन्तव्यबाट प्रभावित भएर पार्टी प्रवेश, लगाए माटोको टिका

प्रकाशित मिति:

बझाङ – साझा विवेकशील पार्टीका केन्द्रीय संयोजक रबिन्द्र मिश्रले बझाङमा गरिएको भ्रष्टाचारबिरुद्धको अभियान कार्यक्रममा नागरिकहरुलाई पार्टीका अन्ध भक्त नभएर स्वतन्त्र विवेकशील नागरिक हुन सुझाव दिएका छन् । सदरमुकाम चैनपुरमा बिहिबार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका नागरिकहरु नागरिक जस्ता नभएर पार्टीका भक्त भएका कारण नेताहरु जनमुखी हुन नसकेको बताए ।

उनले भने,’अझै आम मानिसहरुले जबसम्म आफ्ना नेताहरुको आलोचना गर्न सक्दैनन् तब सम्म यीनै नेताहरु र यीनीहरुका आसपासका मानिसहरुले शासन सत्ता सञ्चालन गर्ने हुदा अब नागरिकहरुले पार्टीका भक्त नभएर स्वतन्त्र नागरिकका हैसियतले सक्षम योग्य राष्ट्रभक्ति र बिकासबादी मानिसहरुलाई समर्थन गर्नुपर्छ ।’ नेताहरुको हस्तक्षेपका कारण राज्यका सबै संयन्त्रहरुमा ईमान्दारिता , नैतिकता , पदिय मर्यादा हराउदै भ्रष्टाचार मौलाएको भन्दै मिश्रले भने,’यो गतिबिधीले मानिसहरुको ब्यक्तिगत प्रगती त होला तर मुलुक समृद्ध नहुनेमा दुईमत छैन् ।’

भ्रष्टाचारबिरुद्धको अभियानमा सुदूरपश्चिमका सबै जिल्लाहरुमा अभियान चलाउदै बझाङ आई पुगेका साझा विवेकशिल पार्टीका अन्य नेताहरुले पनि गणतन्त्र आएपछि मूलुकमा राम्रो प्रगती विकास समृद्धि होला सोचेका थियौ तर अझैपनि मूलुकको बिकास , जनताको न्यूनतम आवश्यकता समेत परिपूर्ति हुन नसकेको दुखेको पोखे। नेताहरु आफ्नै निहित स्वार्थमा अल्झेका कारण अहिलेका काँग्रेस , नेकपाबाट परिबर्तन नहुने धारणा समेत राखे।

समारोहमा बोल्दै पार्टीका प्रवक्ता डा. सुर्यराज आचार्यले अहिलेका नेताहरुमा ईमान , निष्ठा हराएको बताउदै आफुहरुले पद प्रतिष्ठाका लागी पैसा कमाउनका लागी राजनीति भन्दा पनि मूलुकको आमुल परिर्बतन गर्नका लागि लागेको बताए । आचार्यले संसारका सबै देशहरु भन्दा नेपाल प्राकृतिक हिसावले पनि स्रोत साधन सम्पन्न रहेको तर ब्यबस्थापन गर्न नसकेका कारण र नेताहरुमा ईच्छा शक्तिको कमि भएका कारण नेपालको बिकास हुन नसकेको धारणा राखे।

यसैगरि सुदुरपश्चिम प्रदेशका संयोजक गोपी हमालले अहिले पनि नागरिकहरुमा दलिय दासत्व कायमै रहेका कारण मुलुकको बिकास हुन नसकेकोले देशमा दण्डहिनता बढेको , भष्टचार मौलाउदै गएको बताए। पार्टीले गरेको भ्रष्टाचार बिरुद्धको अभियान कार्यक्रममा नेताहरुको मन्तव्यबाट प्रभावित भएर यहाँका १०-१२ जनाले यो अभियानको समर्थन गर्दै साझा विवेकशिल पार्टीमा समेत प्रवेश गरेका थिए ।

पार्टी प्रवेश गर्नेहरुलाई सार्बजनिक समारोहमा माटोको टिका लागाएर संयोजक मिश्रले स्वागत गरेका थिए । जिल्लामा पनि काम गरेर खाने स्वाभिमान निष्ठावान र कर्मशिल मानिसहरु यो पार्टीमा लागेका र जिल्लाका बिभिन्न सामाजिक अभियानमा समेत उनिहरुको सहभागीता रहदै आएको छ । भ्रष्टाचार बिरुद्धको अभियान सुदूरपश्चिमका नौ वटै जिल्लामा गर्ने साझा विवेकशील पार्टीले बताईएको छ ।-हाम्राकुरा