बिरबिक्रम २ हेरेर किन रोईन आचल

प्रकाशित मिति:

काठमाडौँ -निर्देशम मिलन चाम्स निर्देशित फिल्म ‘बीर विक्रम २’ गएको शुक्रवारबाट देशभरका हलमा प्रदर्शनरत छ । पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी, बुद्धि तामाङ स्टारर फिल्मले मित्रताको कथा वाचन गरेको छ । इनिसियल व्यापार राम्रो भए पनि आइतबारबाट फिल्मको कलेक्सन ग्राफ क्रमशः ओरालोलाग्दो छ । फिल्मलाई दर्शकले राम्रोरनराम्रो दुबैथरी बोल्दा समीक्षकले भने पिटिक्कै रुचाएका छैनन् ।

एकसाथ प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ को ‘वर्ड अफ माउथ’ बलियो हुँदा त्यसको प्रत्यक्ष असर ‘बीर विक्रम २’ ले नराम्रोसँग बेहोर्नु परेको छ । आइतबारबाट मल्टीप्लेक्समा यो फिल्मको सोजमा निकै गिरावट आएको छ । सिंगलमा भने राम्रो व्यापार गरिरहेको वितरकले बताएका छन् । भोली शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गर्ने यो फिल्म करीब ३ वर्ष अगाडि प्रदर्शनमा आएको ‘बीर विक्रम’ को दोस्रो सिरिज हो । फिल्ममा अभिनय गरेका कलाकार र निर्देशक चाम्सको आग्रह स्वीकार गर्दै अहिले दैनिकजसो हलमा पुगेर फिल्मकर्मीहरुले ‘बीर विक्रम २’ हेरिरहेका छन् । बुधवार दिउँसो बालाजुमा रहेको विएसआर हलमा पुगेर अभिनेत्री आँचल शर्माले फिल्म हेरिन् । उनीसँगै पल, नाजिर, बुद्धि, वर्षा र निर्देशक चाम्सले पनि साथमा बसेर फिल्म हेरे । फिल्म हेरेपछि आँचलले कलाकारदेखि निर्देशकसम्म सबैको तारिफ गरिन् ।

‘फिल्मको अन्तिममा मैले आँसु नै रोक्न सकेको थिइनँ । बीर र विक्रमको मित्रता देखेर मेरो पनि त्यस्तै साथी भइदिए पनि हुन्थ्यो भन्ने महशुस भयो‘, उनले अगाडि भनिन्, ‘फिल्म एकदमै राम्रो छ । मैले त भरपूर इन्जोय गरेँ । कलाकारहरु सबैको अभिनय उत्कृष्ट लाग्यो । सबैले आफ्नो चरित्रलाई न्यायपूर्वक निभाउनुभएको छ ।‘ आँचल स्क्रिनमा आफ्नो निकै रुचाइएको जोडी पलको तारिफ गरेर थाकिनन् । अघिल्ला फिल्महरुमा आफूलाई कहिँ कतै रियल पल महशुस भएको बताउँदै ‘बीर विक्रम २’ मा अलग पाएको उनले बताइन् । उनी भन्छिन्, ‘‘शत्रु गते’ मा मैले धेरै ठाउँमा रियल पल महशुस गरेको थिएँ । ‘बीर विक्रम २’ मा उहाँको स्टाइल निकै फरक लाग्यो । कतै पनि रियल पल महशुस भएन ।’’ उनले अभिनेत्री वर्षाको क्यारेक्टरमा आफूलाई रिलेट गरेको पनि बताइन् ।
निर्देशक मिलन चाम्सले फिल्मले राम्रो व्यापार गरिरहेको बताए । उनी दर्शकले फिल्म रुचाउनु नै आफूहरुकोे मिहिनेतले साकार भएको बताउँछन् । फिल्मको एकहप्ते व्यापार साढे २ करोडको आसपास हुने उनको अनुमान छ । अभिनेता पलले आफूलाई दर्शकले बीरको नामबाट बोलाउन थालेकोमा खुसी व्यक्त गरे । नाजिर, वर्षा र बुद्धि पनि दर्शक प्रतिक्रियाबाट खुसी छन् ।