शिवजीको तेस्रो नेत्र र ब्ल्याक होलबीचको सम्बन्ध यस्तो रहेको छ

प्रकाशित मिति:

एजेन्सी अन्तरिक्षको एक रहस्यका रूपमा रहेको ब्ल्याक होलको तस्वीर पहिलोपटक सार्वजनिक भएपछि विश्व नै रोमाञ्चित भएको छ । विज्ञानले जसलाई ब्ल्याक होल मानेको छ, हिन्दू धर्ममा त्यो भगवान् शिवको तेस्रो नेत्रसँग मिल्ने देखिएको छ ।भगवान् शिवलाई महाकाल पनि भनिन्छ । कालको अर्थ समय हुन्छ । महाकाल समयका पनि मालिक हुनुहुन्छ । उहाँको दिव्यताले समयलाई समेत प्रभावमा राख्छ र समय पनि उहाँका अगाडि नतमस्तक रहन्छ । त्यसैले शिवजीलाई अजन्मा तथा अविनाशी भनिन्छ अर्थात् कालले उहाँलाई छुन सक्दैन । उहाँ समयभन्दा माथि हुनुहुन्छ र समयले उहाँको मापन गर्न सकिँदैन ।

यस लोकको जीवन हेरियो भने चाहिँ हामी सबै समयको प्रवाहमा बगिरहेका देखिन्छौं । यसरी बग्ने क्रममा हामीहरू क्रमशः शक्ति गुमाउँदै जान्छौं र भवसागरमा डुब्छौं । शक्ति पूर्णतया क्षीण भएपछि हामीलाई कालले बोलाउँछ र हामी भौतिक शरीर त्याग्छौं । तर हामीभित्रको अमर आत्माले अर्को शरीर फेला पार्छ र त्यही शरीर समयको धारामा पौडी खेलिरहन्छ । कालरूपी प्रवाह अन्त्यमा महाकालमा गएर टुंगिन्छ । अर्थात् समय महाकाल शिवमा पुगेर अन्त्य हुन्छ ।

ब्ल्याक होलमा पनि समय रोकिन्छ भन्छन् वैज्ञानिकहरू । कुनै तत्त्वमा जति बढी पिण्ड मास० हुन्छ, त्यहाँ समय त्यति नै सुस्त हुन्छ भन्ने त सापेक्षताको सिद्धान्तले नै मान्छ । ब्ल्याक होलमा अनन्त पिण्ड हुन्छ त्यसैले समय त्यहाँ पूरै रोकिन्छ । वैज्ञानिक स्टिफन हकिङले ब्ल्याक होलमा समय लगभग शून्यमा पुग्ने बताएका छन् । अर्थात् ब्ल्याकहोलमा गुरुत्वाकर्षण अनन्त छ । त्यसैले यसले सबै भौतिक वस्तुलाई आफूतिर तानिदिन्छ ।प्रकाशको किरण पनि ब्ल्याक होलमा प्रवेश गरेपछि निस्कने नसक्ने हुनाले त्यसलाई कालो गर्त भनिएको हो । ब्ल्याक होलको गुरुत्वाकर्षण अनन्त हुनाले समय त्यहाँ शून्यमा पुग्छ । अर्थात् त्यहाँ समयको अस्तित्व हुँदैन । समयभन्दा पर छ त्यो स्थान ।

त्यसैगरी भगवान् शिव पनि समयभन्दा पर हुनुहुन्छ । उहाँ जन्म र मरणको कालचक्रभन्दा माथि हुनुहुन्छ ।हिन्दू धर्मग्रन्थहरूले प्रलयकालमा भगवान् शिवको तेस्रो नेत्र खुलेपछि सम्पूर्ण विश्व ब्रह्माण्ड नष्ट हुने अर्थात् शिवनेत्रभित्र समाहित हुने उल्लेख गरेका छन् । यो तेस्रो नेत्र ब्ल्याक होलको अवधारणासँग मिल्न आउँछ ।ब्ल्याक होलमा प्रवेश गर्ने भौतिक वस्तु समयभन्दा परको बहुआयामिक विश्वमा पुग्न सक्ने अनुमान वैज्ञानिकहरूले गरेका छन् । कुनै पनि वस्तु पूर्णतया नष्ट नहुने तर त्यसको स्वरूप मात्र परिवर्तन हुने विषयमा वैज्ञानिकहरू पनि सहमत छन् । यसलाई प्रिन्सिपल अफ मास कन्जर्भेसन भनिन्छ । त्यसैले भौतिक वस्तु ब्ल्याक होलमा प्रवेश गरेपछि अर्कै ब्रह्माण्डमा पुग्न सक्छ त्यसैले त्यो प्रवेशद्वार हुन सक्ने अनुमान पनि आधारहीन छैन ।त्यसैगरी शिवजीको तेस्रो नेत्र आध्यात्मिक संसारको प्रवेशद्वार हो । आत्मा सबै भौतिक बन्धनबाट मुक्त भएर आफ्नो शुद्धतम स्वरूप प्राप्त गरेपछि शिवनेत्रमार्फत आध्यात्मिक संसारमा प्रवेश गर्छ । शिवनेत्रमा समाहित हुनका लागि भवबन्धनको दुष्चक्रबाट मुक्त भएको शुद्ध आत्मा आवश्यक हुन्छ र शुद्ध आत्मा भौतिक संसारको विषयभन्दा माथि छ ।ब्ल्याक होलले उसनजिक पुग्ने सबै भौतिक वस्तुलाई नष्ट गरेर आफूभित्र समाहित गरेझैं भगवान् शिवले व्यक्तिको भौतिकतालाई विनष्ट गरेर उसको शुद्ध रूपलाई आफूमा समाहित गर्नुहुन्छ । ब्ल्याक होल पराभौतिक विश्वको प्रवेशद्वार भए झैं भगवान् शिव पनि भौतिक मूल्यमान्यताको विनाश गरेर आध्यात्मिक संसारमा प्रवेश गराउने माध्यम हुनुहुन्छ ।