सरकारले ल्याएको विधेयकको विपक्षमा यसरी उभिए नारायणकाजी

प्रकाशित मिति:

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रेसलाई कुण्ठित पार्ने गरी ल्याइएको मिडिया काउन्सिल विधेयक पारित नहुने बताएका छन् ।

काठमाडौंमा शुक्रबार राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले गरेको कार्यक्रममा प्रवक्ता श्रेष्ठले यथास्थितिमा मिडिया काउन्सिल विधेयक पारित नहुने दावी गरे । ‘अहिले जुन विधेयक आएको छ म दावीका साथ भन्छु, यथास्थितिमा यो पारित हुँदैन,’ श्रेष्ठले भने, ‘विधेयकमा परिमार्जन हुन्छ ।’ प्रेसलाई कुण्ठित गर्ने कुनै पनि प्रावधान राखेर विधेयक पारित नहुने उनको भनाइ छ ।

विधेयकबारे व्यापक छलफल गरिनुपर्ने उनले बताए । विधेयकमा रहेका दुईवटा प्रावधान हटाउनुपर्ने पनि उनको भनाइ छ । ‘विशेषगरी सरकारी कर्मचारीको प्रतिनिधित्व बढी हुने गरी व्यवस्था गरिने छैन,’ उनले भने, ‘यसबारे छलफल हुन्छ । न्यायाधीश पनि आफैं हुने भन्ने हुँदैन । यो विधेयक परिमार्जन हुन्छ भन्ने मलाई विश्वास छ ।’

सरकारले सदनमा वैशाख २६ गते मिडिया काउन्सिल विधेयक दर्ता गरेपछि नेपाल पत्रकार महासंघ, नेपाल प्रेश युनियन, प्रेस संगठन नेपाल, २१ जना सम्पादकहरुले विधेयक फिर्ता लिएर छलफल गर्न आग्रह गर्दै आएका छन् । त्यस्तै नेकपाका वरिष्ठ नेताहरुले पनि मिडिया काउन्सिल विधेयक संशोधन गर्ने बताएका छन् । वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालले पनि मिडिया काउन्सिल विधेयक पारित नहुने बताएका छन् । यता सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मिडिया काउन्सिल विधेयक सदनबाट पारित हुने बताउँदै आएका छन् ।