प्रधानमन्त्री ओली शक्तिको उन्मादले ज्ञानेन्द्र पथमा : नेता खाँण

प्रकाशित मिति:

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओली शक्तिको उन्मादले निरंकुश शैलीमा राजा ज्ञानेन्दको पथमा हिँडेको आरोप लगाएका छन् । पार्टीको जारी राष्ट्रिय जागरण अभियान अन्तरगत शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा पर्ने किर्तिपुरमा अयोजित कार्यक्रममा नेता खाँणले प्रधानमन्त्री ओली ज्ञानेन्द्र पथमा हिँडेको आरोप लगाएका हुन् ।

‘‘शक्तिको उन्मादमाले केपी ओली निरंकुश शैलीमा राजा ज्ञानेन्द्र पथमा हिँडिरहेका छन्,’’ उनले भने, ‘‘बहुलवादमा आधारित बहुदलीय शासन व्यवस्थाको विपरित गएर अगाडि बढिरहेका छन् । ओलीको सकिने दिन आउँदै छ ।’’ विश्वमा समाप्त भएको कम्युनिस्टले नेपालमा एक दलिय शासन लाद्न खोज्दा जनताको हक-अधिकार कुण्ठित हुने भन्दै नेता खाँणले कांग्रेस सदैव सचेत हुन जरुरी रहेकोमा जोड दिए । सरकारका नराम्रा कर्तुतको समाचारहरु एकपछि अर्कोगरी सञ्चार माध्यममा आउन थाले पछि प्रधानमन्त्री ओली मिडियालाई नियन्त्रण गर्न उद्दत रहेको उनको आरोप थियो ।

‘‘आफ्नै सरकारको कर्तुतका समाचारहरु आइरहेका हुँदा दिनदिनै समाचार पढ्नु पर्दा, सुन्नु पर्दा औषधी नै औषधीले बाँचेका ओलीको प्रेसर र ज्वरो अधिकतम भएकाले मिडियामा अंकुश लगाउदै छन्,’’ उनले भने, ‘‘प्रधानमन्त्री हुनुभयो, हास्य कलाकार हुनुभयो, अब दोहोरी कलाकार हुन रोस्ट्रमबाट दोहोरीमा जवाफ दिनुहुन्छ ।’’ नेता खाँणले नेपालको राजनीतिक इतिहासमा पहिलो पटक प्रधानमन्त्रीले संसदमा बोलेका शब्दहरु रेकर्डबाट हटाइएको पनि टिप्पणी गरे ।