हाम्रा नेताको नाम गलत नभन – जापान

प्रकाशित मिति:

एजेन्सी – जापानले विश्वसामु एउटा नम्र अनुरोध गरेको छः हाम्रा नेताहरुको गलत नाम भन्न बन्द गर ! वास्तवमा कोरिया र चीन जस्तैगरी जापानी परम्परामा पनि पारिवारिक नाम अर्थात थर अगाडि र नाम पछि लेखिन्छ । तर एक शताब्दी बितिसक्दा पनि जापानीहरुको नाम अङ्ग्रेजी शैलीमा नाम अगाडि र थर पछाडि राखिँदै आएको छ । यस्तोमा विशेषगरी प्रधानमन्त्रीको नाम अन्तर्राष्ट्रिय मिडियामा उल्लेख गर्दा अन्य एसियाली प्रमुख समान शैली अपनाइनुपर्ने बताइएको हो ।

धेरैले यसलाई जापानको संस्कृति र इतिहासमा केन्द्रित गराउने रणनीति बताइरहेका छन् । किनकि आगामी दिनहरुमा लगातारका अन्तराष्ट्रिय समारोहका कारण जापान विश्वको केन्द्रमा रहनेछ । आगामी शनिबार मात्र अमेरिकी राष्ट्रपति जापान भ्रमणमा जाँदैछन् भने अर्को महिना जापानले जी२० सम्मेलन आयोजना गर्दैछ अनि रग्बी वल्र्डकप पनि यसै सेप्टेम्बरमा सम्पन्न हुनेछ र साथै अर्को वर्ष समर ओलम्पिक्सका लागि पनि जापानले तिव्र तयारी गरिरहेको छ ।

तर यता जापानी सरकारले भने सांस्कृतिक विविधताको सम्मानमा र जापानी मूल्य मान्यताहरुलाई नगुमाउन यस्तो निर्णय गरिएको बताएको छ । तापनि यसलाई तत्काल लागू गर्नु समस्याजनक हुन सक्ने पनि बताइएको छ । किनकी जापानभर आधा जनसङ्ख्याले आफ्नो नाम अगाडि नै लेख्ने गरेका छन् । अन्तराष्ट्रियकरणको प्रयासका निम्ति सबैभन्दा पहिले मेइजी युगमा नामलाई यसरी लेख्न थालिएको थियो । यस्तोमा यसै महिना रेइवा युगमा प्रवेश गरिसकेपछि जापानी सरकारले नाम सम्बन्धी मुद्दालाई सधैँका लागि समाधान गर्न यस्तो अपील गरिरहेको बताएको छ ।

मंगलबार संचारकर्मीहरुसँग बोल्दै जापानका विदेश मन्त्री टारो कोनोले प्रधानमन्त्रीको नाम अबदेखि ‘आबे सिन्जो’ लेखिने अपेक्षा गरिएको बताएका हुन् । उनले यसमा चिनियाँ राष्ट्रपतिलाई सबैतिर शि जिनपिङ र कोरियाका राष्ट्रपतिको नाम मुन जेइन भन्ने गरिएको उदाहरण दिँदै आफ्नो देशका प्रधानमन्त्रीको नाम पनि सिन्जो आबे नभनेर आबे सिन्जो भनि उल्लेख गरिनुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, “हामी अन्तराष्ट्रिय मिडियालाई आधिकारिक रुपमा यसका लागि अनुरोध गर्ने योजना बनाइरहेका छौँ ।” तर यसो गर्नाले विकिपिडियादेखि सबै अन्तराष्ट्रिय सर्च इन्जिन र लिखित कागजहरुमा जापानी प्रमुखहरुबारे रहेका लेख र समाचारहरु सच्याइनुपर्ने हुँदा कठिनाइ हुने बताइएको छ । – सीएनएन