नवलपुरका हावाहुरी पीडितलाई चौधरी फाउण्डेनद्वारा जस्तापाता सहयोग

प्रकाशित मिति:

नवलपुर – नवलपुरको देवचुली नगरपालिकाका हावाहुरी पीडितलाई चौधरी फाउण्डेशनले एक सय बण्डल जस्तापाता उपलब्ध गराएको छ। नेपाली कांग्रेसका सांसद एवं चौधरी फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले आफ्नो जिल्लामा हुरी र असिना पानीले व्यापक क्षति पुर्‍याएलगत्तै सहयोग उपलब्ध गराएका हुन्।

जेठ ७ र ८ गतेको हुरी तथा असिना पानीले नवलपुरका दुई सयभन्दा धेरै घरका छानो उडाएको छ र घरहरूमा समेत क्षति पुर्‍याएको छ। ‘नवलपुरमा आएको हुरी तथा असिना पानीले आम नागरिकमा पुर्‍याएको असरबाट मर्माहत भएको छु। नवलपुरको बासिन्दा र यहाँहरूको जनप्रतिनिधिका हैसियतले यस दुःखद घडीमा म यहाँहरूको साथमै रहेको छु,’ सांसद चौधरीले नवलपुरवासीलाई पठाएको सन्देशमा भनेका छन्, ‘यो दुःख तपाईहरूको मात्रै नभएर मेरो पनि हो। हामी सबै मिलेर यसको सामना गर्नेछौं।’

बिहीबार फाउण्डेसनले नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठलाई जस्तापाता हस्तान्तरण गरेको हो। नगरपालिकाको अध्ययन टोलीले हुरी पीडितका लागि तत्काल जस्तापाताको सबैभन्दा बढी आवश्यकता रहेको सुझाव दिएपछि सांसद चौधरीले तत्कालै जस्तापाताको व्यवस्था मिलाएका हुन्। पीडितमध्ये पनि आर्थिक रुपमा विपन्न र सर्वाधिक प्रभावित परिवारलाई उच्च प्राथमिकतामा राखेर सहयोग वितरण गर्ने व्यवस्था मिलाइएको छ। सांसद चौधरीले उपलब्ध गराएको सहयोग करिब १० लाख रूपैयाँ बराबर रहेको छ।

हावाहुरीले नगरपालिकाको सितावास, रामबास, मुण्डे, विशालटार र लक्ष्मीपुर क्षेत्रका घर, गोठका छानो उडाएको छ। जसका कारण पीडितहरू चर्को गर्मी र हुरी बतासकाबीच खुला आकाशमा बस्नुपर्ने अवस्था छ। हुरीसँगै आएको असिनापानीले खाद्यान्न, लत्ताकपडा समेत भिजेको सिताबासका पीडित आषिश भूर्तेलल बताए। हावाहुरी र चर्को गर्मीको यस मौसममा छानो समेत उडाउदा स्थानीयवासीहरु बिचल्लीमा परेका छन्।