‘जी–२०’ को बौद्धिक समूह बैठकलाई डा. महतले सम्बोधन गर्ने

प्रकाशित मिति:

काठमाडौं – विकसित राष्ट्रहरूको अन्तर्राष्ट्रिय मञ्च जी–२० लाई विश्वव्यापीरूपमा देखिएका दीगो विकासका चुनौतीका सन्दर्भमा आवश्यक सुझाव दिन बनेको बौद्धिक समूह टी–२० को शिखर बैठकमा सहभागी हुन नेपाली काग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत बिहीवार राति जापान गएका छन् ।

जापानको राजधानी टोकियोमा शुक्रवारदेखि ४ दिनसम्म (मे २४ देखि २७) सञ्चालन हुने सो शिखर बैठकमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा. महतले जी–२० लाई आवश्यक सुझाव दिनका लागि बनेको बौद्धिक समूह बैठकलाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् ।

जी–२० समूहले दीगो विकासका लागि विश्वव्यापीरूपमा देखिएका चुनौतीहरूको समाधानका लागि आवश्यक सुझावहरु संकलन गर्न सो बौद्धिक समूहको गठन गरेको हो । सहमहामन्त्री डा. महतले ती चुनौतीहरूको समाधानका पक्षमा विश्वव्यापी सुशासन लगायतका विषयमा नेपालजस्तो अति कम विकसित राष्ट्रहरूका तर्फबाट धारणा राख्नेछन् । बैठकमा जी–२० समूहका सदस्य राष्ट्रका तर्फबाट विशेषज्ञहरूको सहभागिता हुनेछ ।