नेहरु–इन्दिरा गान्धी जस्तै दोस्रो पटक पूर्ण बहुमत ल्याउने प्रधानमन्त्री बने नरेन्द्र मोदी

प्रकाशित मिति:

नयाँदिल्ली – जवाहरलाल नेहरु र इन्दिरा गान्धीपछि नरेन्द्र मोदी भारतका एक यस्ता प्रधानमन्त्री बनेका छन्, जसले लोकसभा चुनावमा दोस्रो पटक पार्टीलाई पूर्ण बहुमत दिलाउन सफल भएका छन्। बिहीबार सार्वजनिक भएको चुनावको नतिजाअनुसार नरेन्द्र मोदीले दोस्रो पटक पूर्ण बहुमत प्राप्त गरेका छन्। सन् २०१४ मा भारतीय जनता पार्टीले लोकसभा चुनावमा ५४३ मा २८२ सिट जितेको थियो।

सन् १९५१–१९५२ भन्दा पहिले लोकसभा चुनावमा जवाहरलाल नेहरुको अगुवाइमा कांग्रेसले तीन चौथाइ सिट जितेको थियो। त्यसपछि कांग्रेसले नेहरुकै नेतृत्वमा १९५७ र १९६२ को चुनावमा पनि पूर्ण बहुमत ल्याएको थियो। १९५१ मा भारतमा पहिलो पटक चुनाव हुँदै थियो। त्यतिबेला देशभरि कांग्रेसकै वर्चश्व थियो। सो समयमा भारतीय जनसंघ, किसान मजदूर प्रजा पार्टी, सेड्युल कास्ट फेडरेसन र सोसलिस्ट जस्ता राजनीतिक पार्टी भरखरै आकार लिँदै थिए।

सो चुनावमा भारतीय लोकसभाको ४८९ सिटमध्ये कांग्रेसले ३६४ सिट कब्जा गरेको थियो। कांग्रेसलाई त्यसबेला कुल भोटको ४५ प्रतिशत भोट प्राप्त भएको थियो। १९५७ मा दोस्रो पटक नेहरु चुनावी मैदानमा थिए। तर १९५५ मा ‘हिन्दु विवाह अधिनियम’ पारित भएपछि प्रधानमन्त्रीका रुपमा उनका लागि मुस्किल समय थियो। उनी पार्टीभित्र र बाहिर पनि दक्षिणपन्थी विचारधारासँग लडिरहेका थिए।

यसका अलावा भाषाको विषयमा विवाद थियो। १९५३ मा राज्य पुनर्गठन समितिको गठनपछि कतिपय राज्यको निर्माण भाषाको आधारमा भयो। भारतभरि खाद्यान्न संकटले जनता आक्रान्त थिए। यस्ता तमाम समस्याका बीचमा भएको १९५७ को लोकसभा चुनावमा कांग्रेसले ४९४ मा ३७१ सिट जित्यो। र, अघिल्लो चुनावमा प्राप्त भोट ४५ प्रतिशतबाट बढेर ४७ दशमलव ७८ प्रतिशतमा पुग्यो।
१९६२ मा नेहरुको नेतृत्वमा कांग्रेसलाई ४९४ सिटमध्ये ३६१ सिट प्राप्त भयो।

भारत स्वतन्त्र भएको २० वर्षपछि भने कांग्रेसको वर्चश्व घट्न थाल्यो। सन् १९६७ मा भएको विधानसभा चुनावमा कांग्रेसले ६ राज्यमा पराजय भोग्नुपर्‍यो। यी राज्यमा तमिलनाडु र पश्चिम बंगाल पनि सामेल थिए, जहाँ कांग्रेसले पहिलो पटक हार बेहोरेको थियो। सन् १९६७ मा भएको लोकसभा चुनावमा जवाहरलाल नेहरुकी छोरी इन्दिरा गान्धीलाई ५२० क्षेत्रमध्ये २८२ क्षेत्रमा जित प्राप्त भयो। लोकसभा चुनावमा इन्दिरा गान्धीको यो पहिलो जित थियो।

१९७१ को लोकसभा चुनावमा पनि इन्दिरा नेतृत्वको कांग्रेसले ३५२ सिट जित्यो। १९७७ को चुनावबाट भने पहिलो पटक कांग्रेस सत्ताबाहिर पुग्यो। यो चुनावमा जनता पार्टी गठबन्धनले २९८ सिट जित्यो भने कांग्रेसले १५३ सिटमा चित्त बुझायो। त्यसपछि मोरारजी देसाईं प्रधानमन्त्री बने। तर गठबन्धन भित्रकै मतभेदका कारण सरकार लामो समय चलेन।

सन् १९८० मा इन्दिरा गान्धीकै अगुवाइमा कांग्रेसले सानदार रुपमा ३५३ सिट जितेर पुन: सत्तारोहण गर्‍यो। अहिले भाजपाका नेता नरेन्द्र मोदीले पनि जवाहरलाल नेहरु र इन्दिरा गान्धीले जस्तै दोस्रो पटक लोकसभा चुनावमा पार्टीलाई पूर्ण बहुमतको सरकार बनाउने अवसर दिलाएका छन्।