एयरपोर्टमा भेटिएको सुटकेसमा झन्डै ८ करोड भारु

प्रकाशित मिति:

काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरेको रकम ७ करोड ६७ लाख ९४ हजार रहेको खुलेको छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरुका साथमा यो रकम फेला परेको हो । उनीहरुले दुईवटा सुटकेसमा रकम ल्याएका थिए । तीनजना पाकिस्तानी र तीनजना नेपाली विमानस्थलबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार विदेशबाट आएका तीनजना पाकिस्तानी नागरिकलाई रिसिभ गर्न जाँदा थप तीनजना नेपाली पक्राउ परेका हुन् । कतार एरयवेजबाट तीनजना पाकिस्तानी दुईवटा सुटकेस बोेकेर विमानस्थलमा अवतरण गरेका थिए । पक्राउ पर्नेमा नेपाली नागरिक युनुस अन्सारी पनि रहेका छन् ।

युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबारमा पक्राउ परिसकेका व्यक्ति हुन् । अन्सारीमाथि केन्द्रीय कारागारमा रहँदा गोली प्रहार समेत भएको थियो । पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेशनल टेलिभिजनका सञ्चालक थिए ।