नाकबाट रगत बग्ने समस्याका १० कारण

प्रकाशित मिति:

रक्तनलीबाट विभिन्न कारणले अन्तै रगत बग्न गएमा त्यसलाई रक्तस्राव भनिन्छ। रक्तस्राब शरीरको जुनै अंगबाट पनि हुन सक्छ। यहाँ भने हामी नाँकबाट रगत बग्ने समस्याबारे कुरा गर्नेछौँ। बोलीचालीको भाषामा नाकबाट रगत बग्नुलाई ‘नाथ्री फुटेको’ पनि भनिन्छ। नाकबाट रगत बग्नुका पनि विभिन्न कारण हुन्छन्। अधिकांश मानिसले कुनै न कुनै बेला नाकबाट रगत बगेको समस्या भोगेकै हुन्छन्। अध्ययनहरुका अनुसार ७० प्रतिशत मानिसमा बिनाकारण नाकबाट रगत बग्ने गर्छ। कारण पत्ता लागेका ३० प्रतिशतमा पनि नाक सम्बन्धी समस्याले हुने रक्तस्राब र अन्य समस्याले गर्दा हुने रक्तस्राब गरी दुई भागमा विभाजन गरेर हेरिन्छ।

नाक वरिपरिको समस्याले हुने रक्तस्राब

१ चोटपटकः नाकमा चोटपटक लाग्दा रगतका नशाहरु फुट्न सक्छन् र रगत बाहिर निस्किन सक्छ। नाकमा कुनै किसिमको चोटपटक लाग्यो वा दुर्घटनामा परेर नाकभित्रका नशाहरु फुटे भने नाकबाट रगत बगेर निस्कन्छ। चोटपटक लागेर नाकको हड्डी बांगो भएमा पनि समय–समयमा रगत बग्न सक्छ। यसरी बग्ने रगत कसैको नाकबाट निस्किन भने कसैको घाँटी, छाति हुँदै पेटमा पनि जान सक्छ। २ मौसम परिवर्तनः मौसम परिवर्तन हुँदा पनि नाकको नशा फुट्न सक्छ। विशेषगरी जाडोबाट गर्मी र गर्मीबाट जाडो मौसम सुरु हुनै लाग्दा यस्तो समस्या बढी देखा पर्छ। यस्तो समयमा नाकको रक्तनली पातलो भइदिन्छ र रगत बाहिर निस्किन्छ। सुक्खापनः नाक धेरै सुक्खा भएमा पनि रगत बग्न सक्छ। सुक्खापन हुँदा नशामा सहजै घाउ बनिदिन्छ र नशा फुट्न सक्छ।  संक्रमणः सामान्य भाइरस, रुघाखोकी, पिनास आदि कारणले पनि नाकबाट रगत बग्न सक्छ। त्यस्तै विभिन्न ब्याक्टेरियाका कारण नाकमा संक्रमण फैलिएर पनि रगत बग्न सक्छ।

५ नाकको ट्युमरः नाकमा ट्युमर भएमा पनि नाथ्री फुटिरहन्छ। नाकको माथिल्लो भागपटि मस्तिष्कमा ट्यमुर भए पनि रक्तस्राव भएर नाकबाट रगत बग्ने सम्भावना हुन्छ। नशाको खराबीः नाकको नशामा खराबी भएर सामान्य ढंगले रक्त प्रवाह हुन नसक्दा पनि नाकबाट रगत बगेर निस्किने गर्छ।

नाथ्री फुट्नुका अन्य कारण

७ रगत जमाउने तत्वको अभाव वा रगत जम्ने प्रक्रिया अवरोध भएमा। रगत जम्नका लागि आवश्यक पर्ने भिटामिन ९भिटामिन के, भिटामिन सि, प्रोटिन को कमी भएमा पनि नाकबाट रगत आउन सक्छ। ८ उच्च रक्तचाप, मुटुको समस्या, मधुमेह जस्ता रोगका कारण पनि नाकबाट रगत बग्ने सम्भावना रहन्छ। यस्तो समस्या भएका सबैलाई नाकबाट रक्तस्राब हुन्छ भन्ने चाहिँ छैन। ९ दम, खोकी जस्ता श्वास्प्रश्वाससँग सम्बन्धित समस्या भएमा पनि नाकबाट रक्तस्राब हुन सक्छ।  १०  शरीरमा रक्तकोष बन्ने प्रक्रियामा अवरोध भएमा। हड्डीको मासीले काम नगरेमा वा खराब भएमा पनि नाकबाट रक्त बग्न सक्छ।

नाथ्री फुटे के गर्ने
नाकबाट रक्तस्राब हुँदा रगत नाकबाट मात्र बाहिर बग्छ भन्ने हुँदैन। नाकबाट घाँटीतर्फ पनि रगत बगेर जान सक्छ। नाकबाटै सिधै रगत झरेमा त्यसलाई सामान्य अवस्थाका रुपमा लिन सकिन्छ। तर, रगत घाँटीतिर गयो भने त्यो खतरनाक हुन सक्छ। कहिलेकाँही फोक्सोमा रगत गएर फोक्सोको नली बन्द भई मानिसको मृत्यु पनि हुन सक्छ। यस्तो अवस्थामा जतिसक्दो चाँडो अस्पताल पुग्नुपर्छ।  नाकबाट सामान्य रुपमा रगत आएमा सिधा बसेर पाँचदेखि सात मिनेटसम्म नाक थुन्नुपर्छ। तर, टाउको पछाडि ढल्काएर वा आकासतिर हेरेर नाक थुन्नु हुँदैन। यसोगर्दा रगत फोक्सोमा जाने सम्भावना हुन्छ। सीधा उभिएर वा बसेर औँलाले नाक च्याप्दा पनि रगत बग्न रोकिएन भने, चिकित्सकको परामर्श लिनुपर्छ। रगत बगेमा चिसो वस्तु वा वरफले सेक्नुपर्छ। नाकबाट रगत आएको बेला उत्तानो परेर सुत्नु हुँदैन। यसो गर्नाले रगत घाँटीतिर जान सक्छ। त्यस्तै, अनावश्यक तनाव लिनु हुँदैन। तनावले मानिसमा अति उत्तेजक रसायनियक तत्वहरु वृद्धि गराउँछ र रक्तचाप बढेर नाकको रगतको नशा फुट्ने सम्भावना हुन्छ।