विद्यार्थी निको पार्न भन्दै कक्षाकोठामा पूजा

प्रकाशित मिति:

गोकुल घोरसाइने, बारा – कन्भर्सनल डिसअर्डरबाट प्रभावित भएका विद्यार्थीलाई निको पार्न भन्दै बाराको निजगढ नगरपालिका वडा नम्बर– ११ लालस्थित नेरामाविमा बिहीबार ग्रहशान्ति र चण्डी पूजा गरिएको छ।  स्थानीय धामीले ग्रहदशा बिग्रेर विद्यार्थी बिरामी परेको बताएपछि विद्यालयले पुरोहित बोलाएर कक्षाकोठामा नै पूजा गरेको हो। प्रभावितमध्येका केही अभिभावकले देखाउने क्रममा धामीले देवीदेवता रिसाएर छात्रछात्राको ग्रहदशा बिग्रेको र निको पार्न पूजापाठ गर्नुपर्ने बताएका थिए।

धामीको सल्लाहामा लागेका केही अभिभावकको अनुरोधमा विद्यार्थी निको पार्न पूजा गरिएको विद्यालयका प्रधानाध्यापक हरिनारायण लाल कर्णले बताउनुभयो। उहाँले ५ जना पुरोहति बोलाएर बिहान ७ बजेदेखि ४ बजेसम्म कक्षाकोठामा नै वेद, रुद्री र चण्डीपाठ तथा पूजा गरिएको जानकारी दिनुभयो। पूजा चल्दै गर्दा पनि विद्यार्थीहरू पटकपटक बेहोस बनेका थिए। पुरोहितले प्रभावित छात्रालाई जबरजस्ती पूजाको प्रसाद खान लगाएका थिए।

विद्यालय बन्द गरेर गरिएको पूजा कार्यक्रममा बिरामी विद्यार्थी, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा शिक्षकको समेत सहभागिता रहेको थियो। शुरुमा कक्षा ४ मा अध्ययन गर्ने ३ जनामा देखापरेको सो समस्याबाट एक साताभित्र ८ जना छात्रा प्र्र्रभावित बनेको प्रधानाध्यापक कर्णले जानकारी दिनुभयो। कक्षाकोठामा कक्षा शुरु हुने बित्तिकै छात्राहरूमा रुने, चिच्याउने र उफ्रिने र एक्कासि बेहोस हुनेजस्ता समस्या देखापरेको प्रअ कर्णले बताउनुभयो। बोलाउन आएका छन् भन्दै रुदै चिच्याउन थाल्छन्, प्रअ कर्णले भन्नुभयो, एउटाले शुरु गरेपछि अन्यमा पनि त्यस्तै लक्षण देखा पर्दै जान्छ।’ उहाँले विद्यार्थीमा देखा परेको समस्याका कारण पूरै विद्यालयको पठनपाठन प्रभावित बन्दै आएको बताउनुभयो।

घरमा बस्दा भने उनीहरूमा त्यस्तो कुनै समस्या नदेखिएको बताइएको छ। अन्य विद्यार्थीमा समेत प्रभावित हुनसक्ने आशंकामा अघिल्लो साता २ दिन विद्यालय नै बन्द गरिएको थियो। तर समस्या झन् बढ्दै गएपछि पूजापाठ गर्नुपरेको प्र्रअ कर्णको भनाइ छ। कतिपय अभिभावकले विद्यालयमा पिचासले बास गरेको र विद्यार्थीलाई दुःख दिएको समेत बताउँदै आएका छन्। प्राथमिक स्वाथ्य केन्द्र हरैयाका चिकित्सक राजिव सिन्हाले कुनै देवीदेवता वा पिचासका कारणले नभई मानसिक तनावका कारण किशोरावस्थाका केहीमा यस्तो समस्या देखापर्ने बताउनुभयो। उहाँले कन्भर्सनल डिसअर्डरले प्रायः किशोरीहरू प्रभावित हुने गरेको र २० वर्ष उमेर पार गरेपछि समस्या आफैं हराउने पनि बताउनुभयो। चिकित्सक वा विशेषज्ञबाट परामर्श लिएर आवश्यक उपचार गर्नुपर्ने उहाँको सुझाव छ। news of nepal.com bata