युवतीलाई प्रेमजालमा फसाएर बिहे, बिहेपछि भारतको कोठीमा बेचियो !

प्रकाशित मिति:

जनकपुर – युवतीलाई प्रेमजालमा फसाएर महोत्तरीका एक युवाले धनुषाकी एक युवतीलाई बिहेपछि भारतको कोठीमा लगेर यौनकार्य गर्न बाध्य बनाएको खुलासा भएको छ । ४ महिनाअघि धनुषाको बटेश्वर गाउँपालिकाकी चमार समुदायकी १७ वर्षीया युवतीलाई महोत्तरीको लोहरपट्टी नगरपालिका २ का मोहम्मद रबानी कवारीले प्रेमजालमा फसाएर बिहेगरी भारत पुर्याएका हुन् ।  भारत विहार प्रान्तको मुज्जफरपुरस्थित कोठीमा बेचिएकी भनिएकी ती युवती भागेर नेपाल फर्किएपछि घटना बाहिर आएको हो । बिरामी अवस्थामा नेपाल फर्किएकी युवतीको जनकपुर अञ्चल अस्पतालमा एक साता उपचार गराएर घर फर्किएकी छिन् ।

भागी बिहेको डेढ महिनापछि कवारीले आफ्नो घरपरिवारको उपस्थितिमा विवाह गरेका थिए । विवाहपछि कवारीले युवतीलाई आफ्नो घर नलगी भारतको मुजफरपुरको एक कोठीमा देहव्यापार गर्न पुर्याएको बताइएको छ । ‘पहिला प्रेम जालमा फसाए । त्यसपछि विवाहको नाटक गरी मलाई छलेर भारत विहारको मुजफरपुर स्थित एक कोठीमा पुर्याए ’, ती युवतीले आफ्नो पीडा सुनाउँदै भनिन् ‘मलाई त्यहाँ पुर्याएर यौन व्यवसायमा लगाए । मैले अस्वीकार गर्दा हातखुट्टा बाँधेर नसाको सुई लगादिन्थे, चिच्याउँदा कुटपीट गथ्र्यो, मुखमा कपडा कोचिदिन्थ्यो र यौन व्यवसाय गराउथ्यो ।’

कोठी नजिकैका एकजना महिलालाई आफूमाथि भएको पीडा सुनाएपछि उनले नुहाइदिने बहानामा कोठीबाट बाहिर लगेर भाग्न सहयोग गरेकी थिइन् । चरम यातना र यौन शोषणमा परेर सिकिस्त भएकी ती युवती जेठ ४ गते साँझ जनकपुरको रामानन्दचोकमा आइपुगेकी थिइन् । जानकी प्रहरीचोकीले त्यहाँबाट उद्धार गरी उनका घरपरिवारलाई बोलाएका थियो ।

बन्धक बनाएर चरम यातना दिएको निलडाम ती युवतीको हातखुट्टादेखि शरीरभरि सहजै देखिन्थे । पीडित परिवारले आफ्नो छोरीमाथि भएको यातना र यौनशोषणको विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएपछि प्रहरीले जनकपुर अञ्चल अस्पतालमा विस्तृत मेडिकल गराएको थियो । चरम यातना यौनशोषणले सिकिस्त ती युवतीलाई चिकित्सकको सल्लाह अनुसार त्यहिदिन जनकपुर अंचल अस्पतालमा भर्ना समेत गरियो । ५ दिनको उपचारपछि समान्य भएपछि युवती घर फर्केकी हुन् ।

युवतीले आफूलाई ललाईफकाई मायाजालमा पारेर विहे गरी कोठीमा लगेर यौन व्यवसाय गराउने रवानीलगायत उनलाई सहयोग गर्नेहरुलाई कार्वाहीको लागि पहल गरिदिन गुहार गरेकी छन् । यता धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले ती युवतीलाई ललाईफकाई भारत लगेर यौन व्यवसाय गराएको घटनाको छानविन गरिरहेको बताएका छन् ।