लोकसभा चुनावको परिणाम सुनेपछि लालु यादवले खाना खान छोडे !

प्रकाशित मिति:

भारतमा लोकसभा चुनावको परिणाम सार्वजनिक भएपछि बिहारका पूर्व मुख्यमन्त्री तथा आरजेडी प्रमुख लालु प्रसाद यादवले खाना खान छोडिदिएका छन् । राँचीको रिम्स अस्पतालमा भर्ना भएका लालुको उपचार गरिरहेका चिकित्सकहरूले उनको स्वास्थ्य एकदमै खराब हुँदै गइरहेको बताए । लोकसभा चुनावमा आरजेडीले एक सीट पनि जित्न सकेन ।

रिम्सका चिकित्सक उमेश प्रसादले बताए, ‘उहाँको दिनचर्या ध्वस्त भएको छ । विगत दुई दिनमा लालु बिहानको खाजा त जसरीतसरी खानुहुन्छ तर दिउँसोको खाना खानै छोड्नुभयो । बिहान अलिकति खाएपछि एकैचोटि बेलुकाको खाना खानुहुन्छ । यसले गर्दा उहाँलाई इन्सुलिन दिन अप्ठ्यारो परिरहेको छ ।’ उनले भने, ‘हामीहरू उहाँलाई निकै सम्झाइबुझाइ गरिरहेका छौं । यसरी खाना छोड्दा तपाईंको स्वास्थ्य खराब हुन्छ भनिरहेका छौं । समयमा खाना खानुभएन भने उहाँलाई औषधि र इन्सुलिन दिन गाह्रो हुन्छ । अब उहाँको रगत र चिनीको मात्रामा निकै असर पर्न सक्छ ।’

लालु यादव चारा घोटाला मुद्दामा राँची जेलमा बन्द छन् र राँचीको अस्पतालमा उनको उपचार चलिरहेको छ । लालुलाई भेट्न आएका उनका पार्टीका एक विधायकले उनलाई तनाव भएका कारण खाना छोडेको खबरलाई खारेज गरे । लालुले विधानसभा चुनावमा भाजपालाई कडा चुनौती दिन निर्देशन दिएको अर्का नेताले बताए । – एजेन्सी