सेयरबजारमा गिरावट, ग्लोबल लघुवित्तका सेयरधनीले १ सय २५ रुपैयाँ कमाए

प्रकाशित मिति:

काठमाडौं – साताको पहिलो दिन सेयरबजार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज बजार परिसूचक ११.९३ अंकले घटेर १३०२.६१ अंकमा कायम भएको छ। कुल १ सय ६५ कम्पनीको कारोबार भएकामा २० लाख कित्ता सेयर किनबेच भएका छन्। कारोबार रकम ६२ करोड ६२ लाख रहेको छ। आज ९ हजार २ सय ९४ पटक बजारमा सेयर किनबेच भएको छ।

सेन्सिटिभ सूचक पनि २.८२ अंकले घटेको छ। कुल ११ समूहको कारोबार भएकामा सबै समूहको सूचक ओर्लिएको नेप्सेले जनाएको छ। आज सबैभन्दा बढी निर्जीवन बीमा, ऊर्जा, जीवन बीमा, होटल, विकास बैंक र अन्य समूहको सूचक घटेको छ। कारोबार धेरै भएको कम्पनीमा भने नेपाल बैंक लिमिटेड अगाडि छ। बैंकको ४ करोड ८५ लाखको सेयर किनबेच हुँदा प्रतिसेयर मूल्य ३ सय ३६ रुपैयाँ छ। त्यस्तै शिवम् सिमेन्टको ४ करोड ७५ लाख, माथिल्लो तामाकोशीको ३ करोड ७४ लाख, हिमालयन डिस्टिलरीको २ करोड ५४ लाख र कृषि विकास बैंकको २ करोड १५ लाखको सेयर किनबेच भएको छ।

कमाइका हिसाबले आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका सेयरधनी अगाडि छन्। कम्पनीको प्रतिसेयर आम्दानी १ सय २५ रुपैयाँ हुँदा प्रतिसेयर मूल्य १ हजार ३ सय ७६ रुपैयाँ रहेको छ। त्यस्तै दोस्रो स्थानमा रहेको एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले ९२ रुपैयाँ कमाउँदा कम्पनीको प्रतिसेयर मूल्य १ हजार १ सय ६४ रुपैयाँ कायम भएको छ।

तेस्रो स्थानमा रहेको युनाइटेड इन्स्योरेन्स कम्पनीका सेयरधनीको हातमा पनि ३३ रुपैयाँ परेको छ। कम्पनीको प्रतिसेयर मूल्य ९ सय ९८ रुपैयाँ छ। चौँथो स्थानमा रहेको हिमालय ऊर्जा विकास कम्पनीका सेयरधनीले ४ रुपैयाँ र माउन्टेन हाइड्रो नेपाल लिमिटेडका सेयरधनीले ३ रुपैयाँ हात पारेका छन्। शिवम् सिमेन्टका सेयरधनीले पनि प्रतिसेयर आम्दानी १३ रुपैयाँ गरेका छन्।

गुमाउने कम्पनीमा भने आज जोशी हाइड्रोपावर विकास कम्पनी अगाडि छ। कम्पनीका सेयरधनीले ९.७६ प्रतिशत अर्थात् १२ रुपैयाँ गुमाएका छन्। त्यस्तै गुमाउने अन्य कम्पनीमा हिमालयन डिस्टिलरी लिमिटेडको सेयर मूल्यमा १ सय ४३ रुपैयाँ गिरावट आएको छ। कम्पनीको सेयरमूल्य घटेसँग १ हजार ६ सय ६६ रुपैयाँ कायम भएको छ। राधी विद्युत् कम्पनीका सेयरधनीले १२ रुपैयाँ गुमाएका छन् भने अरुण काबेली पावर लिमिटेडका लगानीकर्ताले १३ रुपैयाँ गुमाएका छन्।