सवै सुकुम्वासीलाई जग्गाको मालिक वनाउँछौंः मन्त्री अर्याल

प्रकाशित मिति:

बुटवल, जेठ १२ गते । भूमिसुधार, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले आगामी चार वर्षभित्रमा सवै सुकुम्वासीहरुलाई जग्गाको मालिक वनाउने बताउनु भएको छ । जग्गा भएरपनि स्वामित्व ग्रहण गर्न नपाएका सुकुम्वासी तथा अव्यवस्थित वसोवासीलाई सरकारले प्राथमिकताका साथ जग्गाको मालिक वनाउने प्रतिवद्धता जनाउनु भयो । रुपन्देहीको सैनामैना नगरपालिकास्थित बुद्धनगरमा आईतवार नेपालमै पहिलोपटक गाउँब्लक जग्गाको पुर्जा जग्गा धनीहरुलाई वितरण गर्दै मन्त्री अर्यालले पचासौं वर्षदेखि जग्गा जोतभोग गरेका तर पुर्जा नपाएर जग्गाको अपनत्व ग्रहण गर्न नपाएका गाउँब्लक जग्गाको पुर्जा वितरण सैनामैनावाट सुरु गरेको बताउनु भयो ।

मन्त्री अर्यालले गाउँब्लक जग्गाको पुर्जा वितरण नेपालका अन्य जिल्लामा पनि क्रमैसंग सुरु हुने बताउनु भयो ।
मन्त्री अर्यालले भन्नुभयो– यसैगरी सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुलाई पनि छानवीन गरेर पुर्जा वितरण गर्छौं, जग्गाको मालिक वनाउँछौं । उहाँले जग्गा नै नभएका सुकुम्वासीहरुलाई पनि सरकारले जग्गा उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै वर्तमान सरकारले आफ्नो कार्यकालभित्र यो समस्या समाधान गरेरै छाड्छ भन्नुभयो ।  जनताको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उहाँले जनताको जीवन बदल्ने खालको कार्यक्रम ल्याउने उदघोष गर्दै आगामी चार वर्षभित्रमा देशमै विकासको क्षेत्रमा कायापलट गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपाका महासचिव तथा रुपन्देही क्षेत्र नं। २ का प्रतिनिधि सभाका सदस्य विष्णु पौडेलले सरकारले जनताका चाहना अनुसारको विकासका काम गरिरहेको भन्दै जनताले अव तीन वर्षभित्रमा विकासको अनुभूति गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले सुकुम्वासी समस्या समाधान गर्ने अठोट गरिसकेको र त्यसको पहिलो अभ्यास स्वरुप रुपन्देहीको सैनामैनावाट जनतालाई जग्गाको मालिक वनाउने प्रकृया सुरु भएको बताउनु भयो । सो अवसरमा प्रदेश ५ सरकारका कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले जनताले अनुभूति गर्ने गरी कृषि क्षेत्रको विकास गरी कृषकहरुको आयआर्जनमा टेवा पु¥याउने कार्यक्रम लागू गरेको बताउनु भयो ।

राष्ट्रिय सभामा सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले सरकारले जनताले महसुस गर्ने गरी जनताको काम गरिरहेको बताउँदै सुकुम्वासीलाई जग्गाको मालिक वनाउने अभियान वर्तमान सरकारले सुरु गरेको बताउनु भयो । नापी विभागका महानिर्देशक प्रकाश जोशीले विभागले देशभर नापीको कामलाई डिजिटलाईजेशन गर्ने काम भैरहेको वताउँदै अव फित्ता लिएर नापी गर्ने कामको अन्त्य गर्ने वताउनु भयो ।सो अवसरमा सैनामैना नगरपालिका क्षेत्रका पाँचसय घर परिवारका सदस्यलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको थियो ।

पहिले नापी गर्दा गाउँ वस्तीको घर जग्गा नापी गर्न छुट भएको जग्गालाई गाउँब्लक जग्गा भन्ने गरिएको छ । घर वनाएर बसेका तर नापी भएरपनि पुर्जा नपाएकाहरुलाई सरकारले आईतवारदेखि पुर्जा वितरण गर्न सुरु गरेको हो । सैनामैना नगरपालिकाका प्रमुख चित्रवहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षीय मन्तव्य व्यक्त गर्दै प्रमुख कार्कीले सैनामैनावाट पहिलोपटक गाउँब्लक जग्गाको पुर्जा वितरण सुरु गर्न पाएकोमा गौरवको अनुभूति भएको बताउनु भयो ।