‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरूलाई सरकारले सम्मान गर्ने

प्रकाशित मिति:

काठमाडाैं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरूलाई सरकारले सम्मान गर्ने भएको छ । गृह मन्त्रालयद्वारा जारी सूचनाअनुसार जेठ १६ गते गणतन्त्र दिवसको अवसर पारेर विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा, उमा भुजेल, सन्तोषकुमार बुढा मगरसहितका नेतालाई संविधानसभा पदकबाट विभूषित गर्न लागिएको हो ।

पूर्वमन्त्री समेत रहेका विश्वकर्मा २०६४ सालमा कालीकोट–१ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । २०६४ सालमा रोल्पा– २ बाट चुनाव जितेका विप्लव समूहकै नेता मगरले पनि संविधानसभा पदक पाउने भएका छन् । त्यस्तै, विप्लव समूहकी पोलिटब्यूरो सदस्य भुजेल पहिलो संविधानसभामा निर्वाचनमा गोरखाबाट समानुपातिक सभासद बनेकी थिइन् ।

विभूषण समारोह राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना हुँदैछ । संविधान निर्माणमा उल्लेखनीय योगदान पुर्‍याए बापत भन्दै उनीहरूलाई विभूषित गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

विभूषित हुनेहरुको पहिलो नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारीको नाम छ । यस्तै, दोस्रोमा प्रधानमन्त्री केपी शर्मा ओली, तेस्रोमा सभामुख कृष्णबहादुर महरा, चौथोमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पाँचौमा उपप्रधानमन्त्री उपेन्द्र यादवको नाम छ ।