हिंसा र विष्फोटप्रति गम्भीर बन्न काँग्रेसको आग्रह

प्रकाशित मिति:

काठमाण्डौ / काठमाडौँका विभिन्न स्थानमा आज भएको बम विष्फोट र त्यसबाट भएको मानव जीवनको क्षतिप्रति नेपाली कांग्रेसले पार्टीको ध्यान गम्भीर ढंगले आकृष्ट भएको जनाएको छ । पार्टीका प्रवत्ता बिश्व प्रकाश शर्माद्धारा जारी बिज्ञप्तीमा नेपाली जनताको लामो संघर्षबाट प्राप्त आजका उपलब्धीहरुको रक्षा र विकासमा सबै थरी शक्ति ऐक्यवद्ध ढंगले अघि बढ्नुपर्ने बेला यस्ता घटना हुनुलाई नेपाली कांग्रेसले अत्यन्तै दुःखद रुपमा लिएको भनिएको छ ।

बिज्ञप्तीमा भनिएको छ बम विष्फोटमा परेर जीवन गुमाउनेहरु विद्रोही पक्षका हुन् या विपक्षका तर अमूल्य जीवन गुमेको छ र शान्ति स्थापनापछिको नेपाली समाजलाई हार्दिक ढंगले अघि लिएर जाने आम नेपालीको चाहनालाई मर्माहत बनाएको छ । नेपाली कांग्रेस लामो हिंसाबाट जर्जर भएर बल्ल शान्तिको सास फेरिरहेको नेपालमा पछिल्ला घटनाक्रमहरुबाट अन्तत कसैको विजय नहुने विषयप्रति गम्भीर बन्न राज्य र विद्रोही पक्ष दुवैलाई सचेत गराउन चाहन्छ ।

त्यस्तै बिज्ञप्तीमा ललितपुरमा केहि महिना अघि भएको हत्या, भोजपुरमा जेठ ७ मा राज्यले गरेको ‘फेक इन्काउन्टर’ अनि काठमाडौँमा भएको घटनाले समग्रमा शान्तिपूर्ण संवाद भन्दा समाधानको अर्को विकल्प छैन भनेर प्रष्ट्याएको छ । नेपाली कांग्रेस हिंसाको राजनीति परित्याग गर्न विद्रोही नेकपालाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारुढ नेकपा र नेपाल सरकारलाई सार्वजनिक अपिल समेत गरिएको छ।

घटनामा जीवन गुमाएका सबैको आत्माको चिर शान्ति कामना गर्दै नेपाली कांग्रेस सबै घाइतेहरुको सम्पूण उपचार गर्न नेपाल सरकार समक्ष आग्रह गरेको छ ।