अर्थमन्त्री भन्छन् : नेपालमा गरिबी घट्यो

प्रकाशित मिति:

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को अधिकांश सूचकहरु उत्साहजनक देखिएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा राम्रो सुधार भएको दावी पनि गरे ।

‘राजनीतिक स्थायित्व कायम भएको र विद्युत्को नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासको गति बढेको छ’ अर्थमन्त्रीले भने, ‘आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक देखिएका छन् । विकासको गति बढेका कारण अर्थतन्त्र उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढेको छ ।’

विकासले गति लिएको र गरिबीको रेखामूनी रहेको नेपालीको संख्या पनि घट्दै गएको अर्थमन्त्री खतिवडाले बताए । निरपेक्ष गरिबीको रेखामुनी रहेका जनसंख्या १८.७ प्रतिशतमा झरेको अनुमान छ ।

आर्थिक क्रियाकलापमा भएको बिस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको र कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमता पनि बढेको अर्थमन्त्रीले बताए । उनले भने, ‘विगत धैरै दशकमा पहिलो पटक आन्तरिक बचतले कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत नाघेको छ, यसले राष्ट्रिय पुँजी निर्माणमा उल्लेख्य योगदान पुगेको छ ।’