विप्लवको गृहजिल्लामा बन्दको उच्च प्रभाब !

प्रकाशित मिति:

इमरान खान/कपिलवस्तु –  नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित बनेको छ । नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ को गृहजिल्ला कपिलवस्तुमा पनि विहानै देखि बन्दको उच्च प्रभाव देखिएको छ । जिल्लाका चन्द्रौटा, जितपुर, गोरुसिगे, तौलिहवालगायतका स्थानहरुमा बन्दको प्रभाव परेको छ ।

विप्लवको गृह गाउँ शिवगढीमा आवतजावत गर्ने नागरिकहरुलाई प्रहरीले विशेष निगरानीमा राखेको छ । बन्दको पुर्वसन्ध्यामा जिल्लाका विभिन्न स्थानमा बम पड्किएका आवाज सुनिएपछि जिल्लावासीहरुमा त्रास वढेको छ । त्यस्तै जिल्लाको दक्षिणि भेग कृष्णनगर, बहादुरगञ्ज, महाराजगञ्जमा भने बन्दको आंशिक प्रभाव परेको छ । सदरमुकाम तौलिहवा र मुख्य व्यापारिक केन्द्र चन्द्रौटामा बन्दको प्रभाव उच्च छ । पसल, व्यवसायहरु बन्द छन । टाढा तथा नजिकका यात्रुवाहक सवारी साधन चलेका छैनन ।

शैक्षिक संघ संस्थामा पनि बन्द छन । जिल्लामा हालसम्म अप्रिय घटना नघटेपनि आईतवार साझ सामुदायिक अस्पताल र वाणगंगा पुल नजिकै विष्फोट भएपछि सुरक्षा व्यवस्थालाई प्रहरीले कडा बनाएको छ । त्यस्तै सोमबार विहान शिवराज नगरपालिका ५ वालापुर मोड नजिकै शक्तिशालि आवाजका साथ विस्फोट भएको तर कुनै भौतिक तथा मानविय क्षेति नभएको प्रहरीले जनाएको छ ।