जनमुक्ति पार्टीले भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने

प्रकाशित मिति:

बुटवल –  राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रिय जनमुक्ति पार्टीले यही जेठ १५ गते देखि सात वटै प्रदेशबाट भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको हो । राष्ट्रिय जनमुक्ति पार्टीद्धारा गठीत भ्रष्टाचार बिरुद्धको राष्ट्रिय अभियान,केन्द्रीय संयोजन समितिले आज बुटवलमा ‘पत्रकार साक्षात्कार’ कार्यक्रमको आयोजना गरी अभियान बारे जानकारी गराएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव तथा भ्रष्टाचार बिरुद्धको राष्ट्रिय अभियान,केन्द्रीय संयोजन समितिका संयोजक केशव सुर्यवंशीले नेपालमा जटिल र बिकराल समस्याको रुपमा संस्थागत हुँदै गएको भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने दृढ इच्छा शक्ति नभई समृद्ध नेपाल निर्माण हुन नसक्ने बताउदै सबैले भ्रष्टाचार बिरुद्ध उठ्नुपर्छ भन्ने गम्भिर दायित्वबोध गरुन् भन्ने अपेक्षा सहित पार्टीले भ्रटाचार बिरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने संकल्प गरेको जानकारी दिए ।

भ्रष्टाचारमुक्त देश निर्माणकालागि उच्च नैतिक बलयुक्त राजनीतिक नेतृत्व र संगठन अनिवार्य छ भन्ने तथ्यप्रति राष्ट्रिय जनमुक्ति पार्टी सधै प्रस्ट,सचेत र प्रतिवद्ध रहेको स्मरण गराउदै उनले भ्रटाचारीलाई देशद्रोह सरहको अपराध घोषणा गरी भ्रष्टाचारीलाई कठोर दण्ड सजाय (कम्तिमा जन्मकैद र सम्पत्ति राष्ट्रियकरण) गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिए ।

भ्रष्टाचार बिरुद्ध सुन्य सहनशीलताको नीति लिने र भ्रष्टाचारीको मुख समेत नहेर्ने भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति लक्षित गर्दै महासचिव सुर्यवंशीले भ्रटाचार बिरुद्ध प्रधानमन्त्री साच्चिकै प्रतिवद्ध हो भने अब गरेर देखाउने बेला आएको बताए । अहिले दुई तिहाईको सरकार रहेकोले संबिधाननै संसोधन गरेर पनि भ्रष्टाचार बिरुद्ध कडा कानून बनाउन सकिने भन्दै उनले आफुले गरेको प्रतिवद्धता व्यवहारमा लागु गरेर देखाउन प्रधानमन्त्री ओली र सरकारलाई आग्रह गरे । भ्रष्टाचार सम्बन्धि मुद्धा हेर्ने एउटा छुट्टै स्वायत्त निकायको आवस्यकता रहेको भन्दै महासचिव सुर्यवंशीले छोटो समयमै भ्रटाचार सम्बन्धि मुद्धाको छिनोफानो गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

एक अर्को प्रसङ्गमा उनले सरकारले हालै ल्याउन लागेको मिडिया सम्बन्धि विधेय निरंकुश रहेको भन्दै विधेयक खारेज गर्नुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव तथा जनमुक्ति एकेडेमिका प्रमुख टोप अस्लामीले भ्रष्टाचार जस्तो बिषयलाई हल्का रुपमा लिन नहुने भन्दै भ्रष्टाचार बिरुद्धको अभियानमा सामुहीक प्रयास जरुरी रहेको बिचार व्यक्त गरे ।