बुटवलमा अन्तराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउन शिलान्यास, लागत १ अर्ब २ करोड

प्रकाशित मिति:

बुटवल – एक अर्ब दुई करोडको लागतमा बुटवल १० रामनगर स्थित बुटवल मण्डपमा निर्माण हुने बुटवल प्रदर्शनी केन्द्रको नेकपाका महासचिव एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्नु भएको हो ।

प्रदर्शनी केन्द्रको शिलान्यास गर्दै पौडेलले सम्झौता गरिएको २७ महिनाको अवधीमा निर्माण पुरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिनु भयो । उहाँले बुटवल मण्डपमा निर्माणाधिन अन्तराष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रको लागि बजेटको कुनैपनि कमी हुन नदिने उल्लेख गर्दै तोकिएको समयमा निर्माण गर्न निर्देशन दिर्नु भएको हो् ।

रामनगरस्थित बुटवल मण्डपको पश्चिमतर्फको ६ दशमलव ४ बिघा क्षेत्रफलमा प्रदर्शनी केन्द्र निर्माण हुंदै छ । महासचिव पौडेलले आगामी आर्थिक वर्ष तिब्र बिकासको वर्ष बनाउने तयारी भएको बताउनु भएको छ ।

महासचिव पौडेलले सरकारले आगामी वर्ष इतिहासकै तिब्र बिकासको वर्ष बनाउन लागेको बताउनु भयो । शहरी विकास मन्त्रालयमार्फत निर्माण हुने यो प्रदर्शनी केन्द्र सरकारी स्तरको नेपालको सबैभन्दा ठूलो प्रदर्शनी केन्द्र बन्ने महासचिव पौडेलले दावी गर्नु भयोे ।शहरी विकास मन्त्रालयका महानिर्देशक मनिराम गेलालका अनुसार प्रदर्शनी केन्द्रमा एउटा ठूलो प्रदर्शनी हल, दुईवटा बैठक हल, प्रशासनिक भवन र खाजा घर हुने छन् । १२ हजार स्क्वायर मिटरमा निर्माण हुने ठूलो प्रदर्शनी हलमा चार स्क्वायर मिटरका साढे तिनसय स्टल सहभागि हुन सक्ने छन् ।

बैठक हल भने एउटा साढे तिनसय स्क्वायर मिटर र अर्को साढे दुईसय मिटर स्क्वायर मिटरको हुने छ । प्रदर्शनी केन्द्रमा सबै हलमा गरी ८ सय ३८ स्टल सहभागि हुन सक्ने छन् । बाहिरबाट हेर्दा तीनवटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रलाई आवश्यकता अनुसार अलग–अलग गर्न मिल्ने गरी डिजाईन गरिएको गेलालले जानकारी दिर्नु भयो । प्रदर्शनी केन्द्रमा एक पटकमा १० हजार जनाले अवलोकन गर्न सक्ने छन् । त्यस्तै २० हजार अटाउन सक्ने हल, दुई हजार जनाले एकैपटक खाजा खाना सक्ने गरी फुड कोर्ट निर्माण हुने छ । यस्तै एक लाख १० हजार वर्ग्फिट क्षेत्रफलमा बाल उद्यान, चार सय वटा चारपांग्रे र चार सय वटा मोटरसाइकल क्षमताको पार्किङस्थल बनाईने छ ।

प्रदर्शनी केन्द्र निर्माणका लागि ५ सय २५ वटा रुख काट्नुपर्ने र त्यसको लागि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन गराई रुख काट्ने अनुमति समेत प्राप्त भईसकेकोले बताईएको छ । स्थायी प्रदर्शनी केन्द्रको अभावमा हरेक वर्ष औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्दै आएकोमा स्थायी प्रदर्शनी केन्द्र निर्माण पछि ठूलो राहत मिल्ने भन्दै उद्योगी व्यवसायीले खुसी व्यक्त गरेका छन् ।