लायन्सको कार्यमा लियोको साथ, भैरहवामा अब गार्डेन निर्माण हुने

प्रकाशित मिति:

लायन्स क्लब अफ सिद्धार्थनगर युथले भैरहवामा लायन्स गार्डेन निर्माण गर्ने अभियानमा लियो क्लब अफ सिद्धार्थनगर युथले साथ दिएको छ । लायन्स क्लबले सिद्धार्थनगर नगरपालिका–३ स्थित खजहना नि.मा.वि.को अगाडी गार्डेन बनाउने अभियानलाई सफल पार्न मंगलबार वृक्षारोपण गरिएको लियो क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष रविकान्त उपाध्यायले बताए । रोपिएका विरुवाहरु तारजालीले घेरेर संरक्षण गरी गार्डेनको रुपमा विकास गर्ने लायन्सको अभियानमा आफुहरु सक्रियताका साथ सहभागि हुने उपाध्यायले जानकारी दिए ।क्लबले मंगलबार वृक्षारोपण तथा विरुवा संरक्षण अभियान सुरु गर्दै गार्डेन बनाउने अभियानमा साथ दिएको जनाएको छ । लायन्स क्लब अफ सिद्धार्थनगर युथ र लियो क्लब अफ सिद्धार्थनगर युथले त्यस स्थानमा बेलाबेलामा विभिन्न प्रजातिका विरुवाहरु रोपी संरक्षण समेत गर्दै आएको क्लबका जनसम्पर्क अधिकारी रबिन्द्र गुप्ताले बताए ।

मंगलबार सम्पन्न वृक्षारोपण कार्यक्रममा नीम, सिसौं, पिपल लगायत विभिन्न प्रजातिका १५ वटा विरुवाहरु रोपिएको कार्यक्रम संयोजक एवं क्लबका निर्देशक सागर यादवले बताए ।कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं. ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले वृक्षारोपण गर्दा त्यस क्षेत्रका स्थानीयवासीलाई पनि सहभागी गराए रोपिएका विरुवाहरुको संरक्षणमा सहयोग पुग्ने बताए । उनले लायन्स र लियो युथले आयोजना गर्ने धेरै कार्यक्रममा आफु सहभागि भएको र क्लबले गरेको कार्यहरु उदाहरणीय रहेको चर्चा गरे ।कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर युथका धिरज कुमार मल्लिक, लियो क्लब अफ भलवारी युथका निवर्तमान अध्यक्ष अर्जुनसिंह चौधरी लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रम संयोजक एवं क्लबका निर्देशक सागर यादवको स्वागत मन्तव्य, निर्देशक चन्दन तिवारीको ध्वजा अभिवादन तथा सचिव सुनिल धवलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।