क्रिकेट विश्वकप : १० टोलीका १० प्रभावशाली खेलाडी

प्रकाशित मिति:

एजेन्सी  – आइसिसी एकदिवसीय क्रिकेट विश्वकप ३० मे बाट इंग्ल्याण्डमा सुरु हुँदैछ। जुलाई १४ सम्म चल्ने विश्वकपमा १० देशको सहभागिता रहेको छ। प्रतियोगितामा प्रभाव पार्ने सहभागी १० देशका १० खेलाडी यस्ता छन्ः

रासिद खानः अफगानिस्तान – अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानको सफलता प्रेरणादायी छ। उनीहरुको बलियो पक्ष भनेको बलिङ हो। त्यसमा रासिद खान एकदिवसीय क्रिकेटमा विश्वकै उत्कृष्ट बलिङ अलराउण्डर मध्येका एक हुन्।

आइसिसीको एकदिवसीय अलराउण्डरको वरियतामा उनी हाल दोस्रो नम्बरमा छन्। भर्खरै २० वर्षका मात्रै भएका उनले देशका लागि ९९ अन्तर्राष्ट्रिय खेल खेलिसके।

डेभिड वार्नरः अष्ट्रेलिया साविकको विजेता अष्ट्रेलिया यस विश्वकपको उपाधि दाबेदार टोली हो। पाँच पटकको विश्वकप विजेता अष्ट्रेलियाले यसैवर्ष पाकिस्तानसँगको शृंखला ५–० ले जित्नुका साथै २००९ पछि भारतलाई उसैको भुमिमा ३–२ ले हराउँदै शृंखलामा कब्जा जमाइसकेको छ। बललाई छेडछाड पारेपछि एकवर्ष प्रतिबन्धमा परेको डेभिड वार्नर स्टिच स्मिथसँगै टोलीमा फर्किएका छन्। ओपनिङ ब्याट्सम्यान वार्नरले अष्ट्रेलियाका लागि १ सय ६ एकदिवसीय खेल खेल्दै ४३ सय ४३ रन जोडेका छन्। उनले १४ शतक र १७ अर्धशतक समेत प्रहार गरेका छन्।

साकिब अल हसनः बंगलादेश -आइसिसी वरियतामा एकदिवसीय अलराउण्डरको शीर्ष स्थानमा रहेका खेलाडी बंगलादेशका साकिब अलहसन हुन्। बंगलादेशका लागि १ सय ९८ एकदिवसीय खेल खेलेका उनले ७ शतकसहित ५ हजार ७ सय १७ रन जोडेका छन्। त्यतिनै एकदिवसीयमा उनले २४९ विकेट समेत लिइसकेका छन्।

जस बटलरः इंग्ल्याण्ड – इंग्ल्याण्डका विकेटकिपर ब्याट्सम्यान जस वटलरले यसै महिना भएको पाकिस्तानविरुद्धको शृंखलामा शतक प्रहार गरेका थिए। यस्तै आइपीएलमा राजस्थान रोयल्सका लागि महत्वपूर्ण भुमिका खेलेका अनुभवी ब्याट्सम्यान बटलरले इंग्ल्याण्डका लागि १ सय ३१ खेल खेल्दै ८ शतकका साथ ३ हजार ५ सय ३१ रन जोडेका छन्।

विराट कोहलीः भारत – भारतीय टोलीका कप्तान कोहली एकदिवसीय खेलको आइसिसी वरियतामा शीर्ष स्थानमा छन्। भारतबाट २ सय २७ खेल खेलिसकेका ३० वर्षिया कोहलीले ४१ शतक र ४९ अर्धशतक प्रहार गरिसकेका छन्। दश हजार बढी रन बनाएका कोहलीबाट यसपटक भारतले ट्रफीको आशा राखेको छ।

ट्रेन्ट बोल्टः न्यूजिल्याण्ड – न्यूजिल्याण्डका तीव्रगतिका बलर बोल्ट विश्वकप अघि उच्च लयमा देखिएका छन्। विश्वकप अघिको वार्मअप खेलमा भारतलाई पराजित गर्ने क्रममा उनले ४ विकेट लिएका थिए। २९ वर्षिया उनले देशका लागि ७९ खेल खेल्दै १ सय ४७ विकेट लिएका छन्।

हसन अलीः पाकिस्तान – पाकिस्तानका तीव्र गतिका बलर हसन अलील देशका लागि ४९ वानडे मा ८० विकेट लिइसकेका छन्। अली डेथ ओभरका किफायती बलरका रुपमा चिनिन्छन्। लण्डनमै पाकिस्तानलाई २०१७ को च्याम्पियन्स लिगको उपाधि दिलाउँन फाइनलमा उनले भारतका ३ विकेट लिएका थिए।

क्विन्टन डि ककः साउथ अफ्रिका – विकेट किपर ब्याट्सम्यान डि कक आइसिसी एकदिवसीय ब्याट्सम्यानको वरियतामा पाँचौं नम्बरमा छन्। देशका लागि १ सय ६ एकदिवसीय खेलेका उनले १४ शतक प्रहार गरेका छन्।

लसिथ मलिंगाः श्रीलंका – श्रीलंकाका ३५ वर्षिया तीव्रगतिका बलर मलिंगाले आइपीएलमा मुम्बई इंण्डियन्सलाई च्याम्पियन बनाउँने क्रममा १६ विकेट लिए। श्रीलंकाका लागि उनले एकदिवसीयमा ३ सय २२ विकेट लिइसके। मलिंगाले विश्वकपमा यादगार प्रदर्शनहरु पनि गरेका छन्। २००७ को विश्वकपमा दक्षिण अफ्रिकाका विरुद्ध ४ बलमा ४ विकेट लिँदै सनसनी मच्चाएका मलिंगाले २०११ मा केन्याविरुद्ध समेत ह्याट्रिक लिएका थिए।

क्रिस गेलः वेस्ट इंण्डिज – यसैवर्ष इंग्ल्याण्डविरुद्ध भएको एकदिवसीय शृंखलाका क्रममा दुई शतक प्रहार गर्दै क्रिस गेलले आफूलाई विश्वकपको हेर्नैैपर्ने सुचिमा उभ्याएका छन्। विस्फोटक ब्याट्सम्यानको परिचय बनाएका ३९ वर्षिय गेलले वेस्ट इण्डिजबाट २८९ खेल खेल्दै २५ शतकका साथ १ हजार एकसय रन बनाएका छन्। एजेन्सी