प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा बम भेटियो

प्रकाशित मिति:

झापा – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रलाई लक्षित सोमबार झापाका दुई स्थानमा बम राखेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको दमकस्थित रतुवा पुल नजिकै दिउँसो प्रेसर कुकर बम फेला परेको छ । राजमार्गमा बम भेटिएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । दमक प्रधानमन्त्री ओलीको गृहनगर हो ।

त्यस्तै, ओलीकै निर्वाचन क्षेत्रअन्तर्गत गौरादह नगरपालिका–१ स्थित निर्माणाधीन ट्राफिक प्रहरी पोष्टनजिकै कपडामा पोको पारेको अवस्थामा शंकास्पद वस्तु फेला परेको छ । गौरादहमा प्रधानमन्त्री ओलीको तस्बिर र प्लेकार्डसहित शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

उल्लेख्य संख्यामा प्रहरी परिचालन भए पनि विप्लवका कार्यकर्ताले दिउँसो राजमार्गमै बम राखेर भाग्न सफल भएका छन् । दमकमा फेला परेको बम डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । शंकास्पद वस्तु रहेको गौरादहमा पनि सेनाको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी पूर्व–पश्चिम राजमार्गको झरझरे पुल नजिक ’खतरा’ लेखिएको एउटा बट्टा राखिएको फेला परेको प्रहरीले जनाएको छ ।