हुवावेका प्रमुख भन्छन्– ट्रम्पले फोन गरे भने म उठाउँदिनँ, अमेरिकालाई सामान पनि बेच्दिन

प्रकाशित मिति:

एजेन्सी – चिनिया टेलिकम्युनिकेसन कम्पनी हुवावेका प्रमुख रेन झेङफेईले अमेरिका–चीन व्यापार वार्तामा आफू सहभागी नहुने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशको व्यापार वार्तामा हुवावेलाई पनि समावेश गर्न सकिने बताएपछि रेनको यस्तो प्रतिक्रिया आएको हो । ब्लुमवर्ग टेलिभिजनलाई दिएको अन्तर्वार्तामा रेनले भनेका छन्–ट्रम्पको त्यो प्रस्ताव आफैंमा ठूलो जोक हो। अमेरिकाले कहिल्यै पनि हाम्रा सामान किनेको छैन। भविष्यमा उसले किन्न चाह्यो भने पनि म उनीहरूलाई सामान बेच्ने छैन। त्यसैले नेगोसियसनको कुनै जरूरी छैन।

उनले ट्रम्पले आफूलाई वार्ताका लागि बोलाए पनि वेवास्ता गरिदिने बताए। उनले मलाई फोन गरे पनि म उठाउदिनँ, हुन त उनीसँग मेरो नम्बर पनि छैन। मैले उनको ट्वीट देखें र हाँसें किनकी उनको भनाइ आफैंमा विरोधाभाषपूर्ण छ,’ रेनले भने। ट्रम्पले गत बिहीबार अमेरिका(चीनबीचको व्यापार वार्तामा हुवावेको भूमिका हुन सक्ने बताएका थिए। संसारको दोस्रो स्मार्ट फोन निर्माता र नयाँ पुस्ताको फाइभजी नेटवर्क विस्तारमा आक्रामक हुवावेलाई केही समयअघि ट्रम्पले अमेरिकामा प्रतिबन्ध लगाएका थिए। हुवावे राष्ट्रिय सुरक्षामा खतरा हुने भन्दै उनले अमेरिकी कम्पनीहरूलाई हुवावेसँग कारोबार नगर्न पनि निर्देशन दिएका थिए।

ट्रम्पको निर्देशनअनुसार अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले हुवावेका नयाँ फोनमा जिमेल, गुगल म्याप, युट्युबलगायत सुविधा नदिने बताएको छ भने चलिरहेका फोनमा पनि सफ्टवेयर अपडेट नहुने प्रष्ट पारेको छ। अमेरिका र चीन झन्डै ९ महिनादेखि व्यापार युद्धमा छन्। बेइजिङ र वासिङ्टनमा ११ पटकसम्म भएका वार्ता असफल भएपछि पछिल्लो समय दुबैले अर्को देशबाट आयात हुने सामान कर बढाएका छन्।