बुटवल – जेठ १६ र १७ गते बुटवलमा हुने क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।सम्मेलनको उद्घाटन क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।सम्मेलनमा देशभरबाट दुई सयबढी प्रतिनिधि सहभागी हुने सचिव रामकुमार श्रेष्ठले बताउनुभयो ।
सम्मेलन पूर्व क्रान्तिकारी पत्रकार महासंघले ६ वटै प्रदेशमा प्रदेश भेला गरेको र कतिपय जिल्लाहरुमा जिल्ला भेला समेत गरेको क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले बताउनुभयो । सम्मेलनमा जिल्ला र प्रदेशबाट ३।३ जना प्रतिनिधि र २।२ पर्यवेक्षक छनौट गरेको छ । प्रदेशहरुमा भने महासंघले पेशागत र जनअधिकारका मुद्दाहरुलाई लिएर मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सकिने छ । सम्मेलनको नारा ‘साम्राज्यवादी भूमण्डलीकरणका विरुद्ध जनपक्षीय सञ्चारका निम्ति हाम्रो आन्दोलनपूर्ण प्रेस स्वतन्त्रता, पेशागत सुरक्षा र जनगणतन्त्रका पक्षमा दोस्रो राष्ट्रिय सम्मेलनभन्ने मूल नारा तय गरेको छ ।