मिडिया विधेयकबारे पत्रकार महासंघले गर्‍यो नेताहरूसँग छलफल

प्रकाशित मिति:

काठमाडौं – सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आन्दोलन गर्दै आएको नेपाल पत्रकार महासंघले बिभिन्न दलका नेताहरुसंग छलफल गरेको छ ।

मंगलबार काठमाडौंमा भएको छलफलमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुले मिडिया काउन्सिल विधेयक संशोधन गरेरमात्र पारित गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनीहरुले प्रेस जगतलाई नियन्त्रण गर्नेगरी विधयेक अघि बढ्न नहुनेमा पनि जोड दिए ।कार्यक्रममा नेकपाका नेता दिनानाथ शर्माले मिडिया काउन्सिल विधेयक राष्ट्रियसभा सचिवालयमा दर्ता भएको जानकारी गराउँदै यसबारे पत्रकार महासंघलगायत सरोकारवाला पक्षसँग छलफल गरेरमात्र अघि बढाइने स्पष्ट पारे ।

राष्ट्रियसभाले लोकतन्त्रको मूल्य, मान्यताविपरीत कुनैपनि कानुन स्वीकार नगर्ने उनको भनाइ छ । त्यस्तै नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले सन्चारमाध्यमलाई नियन्त्रण र संकुचन गर्ने काम कुनै हालतमा स्वीकार्य नहुने बताए। कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुको विकल्प नरहेको बताए। मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा दोस्रो चरणको आन्दोलनमा रहेको महासंघले पछिल्लो समय निरन्तर छलफल चलाउँदै आएको छ ।