तिलोत्तमाको नीति तथा कार्यक्रम :  शिक्षा,स्वास्थ्य र कृषिलाई प्राथमिकता

प्रकाशित मिति:

जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम ल्याएको छ । नगरपालिकाले बुधबारबाट शुरु पांचौं नगरसभा वैठकमा पेश भएको वार्षिक नीति तथा कार्यक्रममा शिक्षासंगै स्वास्थ्य, कृषि, वातावरण र पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख बासुदेव घिमिरेले आगामी आर्थिक वर्ष तिलोत्तमा नगरको लागि ‘तीव्र विकासको वर्ष’ हुने बताए ।
नगर सरकारको नीति तथा कार्यक्रम ‘समृद्ध नगर ः खुशी नगरबासी’ को आकांक्षा पूरा गर्ने दिशातर्फ केन्द्रित रहने बताउँदै नगर प्रमुख घिमिरेले नागरिकले अनुभूति गर्नेगरी विकासको प्रतिफल वितरण, शिक्षा प्रणालीमा गुणात्मक सुधार, क्रमागत आयोजना सम्पन्न, कृषि, पशुपालन, पर्यटन, उद्योग, व्यापार, व्यवसाय, लगानीको वातावरण निर्माणलगायतका विषयलाई नीति तथा कार्यक्रमले समेटेको बताए ।
सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि चालु आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा क्षेत्रमा हालसम्म सम्पादन भएका क्रियाकलापहरुलाई समेटि ‘सार्वजनिक विद्यालय सवलीकरण कार्यक्रम’ घोषणा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी २ वर्ष भित्र सामुदायिक र संस्थागत विद्यालय बीचको दुरी समान गर्ने, फल्स सिलिङ्ग राखेर विद्यार्थीलाई टिनको प्रत्यक्ष छानामुनी बस्नुपर्ने बाध्यताको अन्त्य गरिने तिलोत्तमाको नीति तथा कार्यक्रममा उल्लेख छ । ‘स्वस्थ नगरबासी  स्वस्थ नगर’ भन्ने नाराका साथ गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्ने कार्यमा नगरपालिका क्रियाशील रहने उल्लेख गर्दै नगर प्रमुख घिमिरेले स्वास्थ्य चौकीमा रहेका प्रयोगशालाहरुको दिगोपनको लागि प्रयोगशाला व्यवस्थापन कोष खडा गरी सेवालाई निरन्तरता प्रदान गरिने र नागरिक बिरामी हुँदा आवश्यक पर्ने रगत, रक्तसेवा सहयोग कार्यक्रम मार्फत रगत प्राप्त गर्दा लाग्ने ल्याव शुल्कको शोधभर्ना दिइने बताए ।
नीति तथा कार्यक्रममा किसानलाई उत्पादनमा आधारित अनुदान दिने नीति अवलम्वन गरिने जनाइएको छ ।

पशु बीमा अनुदान र बाली तथा पशु संरक्षण कोषलाई थप व्यवस्थित गरिने जनाउँदै नगर प्रमुख घिमिरेले सहकारी खेती प्रणाली, सहकारी संघ संस्थासँगको सहकार्यमा सार्वजनिक नीजि साझेदारी मोडेलमा उत्पादनमूलक उद्योग व्यवसाय संचालन, भैलुभुजलगायत सिंचाई प्रणाली र बोरिङ्गहरुलाई पूर्वअवस्थामा संचालनमा ल्याउन प्रोत्साहन गर्दै अनुदानको व्यवस्था मिलाउने नीति नगरपालिकाले लिएको उल्लेख गरे ।   प्लाष्टिकमुक्त उद्योगलाई करमा ५० प्रतिशत छुट  नीति कार्यक्रममा उद्योग संचालकले वातावरण प्रदुषण कम गर्ने खालका प्लान्ट जडान गरि वातावरण प्रदुषण कम गरेमा र आफ्नो उत्पादन प्लाष्टिकमा प्याक नगरि कपडा वा कागज जस्ता वस्तुमा प्याक गरी सप्लाइ गरेमा त्यस्ता उद्योगलाइ नगरपालिकाले लिने व्यवसाय करमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइने उल्लेख छ ।  वडा नं. १० मा तिलोत्तमा उद्योग ग्राम स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने, खरको छाना मुनि भएका घर परिवारलाई जस्तापाताको छानामुनी ल्याउन कार्यविधि बनाएर अनुदान दिइने नीति तिलोत्तमा नगरपालिकाको छ ।  एकल महिलाको नाममा संचालित व्यवसाय र सम्पत्ती करमा १५ प्रतिशत छुट उपलब्ध गराइने, लैङ्गिक हिंसा न्यूनिकरण र दाइजो प्रचलन न्यूनिकरण उन्मुख कार्यक्रमहरु संचालन गरिने, महिलाहरुमा रहेको परम्परागत सीप प्रवर्धन गर्नको साथै महिला उद्यमशीलता प्रवर्धन गर्ने कार्यक्रमहरु संचालन गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । प्रत्येक वडा÷टोलमा जेष्ठ नागरिक क्लव गठन गरी उनीहरुको जीवनशैलीलाई सजिलो बनाउन पहल गरिने, भूमिहीन, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई सुरक्षित बसोबासको लागि सामूहिक आवास निर्माणको सम्भाव्यता अध्ययन गरिने जनाउँदै नगरपालिकाले नीति तथा कार्यक्रममार्फत् आगामी आर्थिक वर्षमा नयाँ पक्की सडकको तुलनामा पुराना जीर्ण सडकको मर्मत सुधारलाई विशेष महत्व दिइने जनाएको छ ।  नगरपालिका प्रशासनिक भवन परिसरमा कोसेली घर स्थापना गरिने, चालु अवस्थामा रहेका योजनाहरुलाई सम्पन्न गर्न पर्याप्त बजेटको व्यवस्था मिलाइने, नगरपालिकाको आफ्नै नगर गीत तथा लोगो निर्माण गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

थप समाचार