चीनको गुलिङमा हुने अन्तर्राष्ट्रिय राफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीको बिदाइ

प्रकाशित मिति:

काठमाडौँ । चीनको गुलिङमा हुने अन्तर्राष्ट्रिय राफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीको बिदाइ गरिएको छ । चीन सरकारको आयोजनामा आगामी जुन २६ देखि जुलाई १ सम्म हुन लागेको अन्तर्राष्ट्रिय राफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीलाई आज नेपाल राफ्टिङ एण्ड क्यानोइङ एशोसिएसनका अध्यक्ष मानबहादुुर न्यौपानेले बिदाइ गर्नुभयो । उक्त प्रतियोगितामा नेपालबाट पर्यटन विभागका उपमहानिर्देशक पोषनाथ अधिकारी, नेपाल राफ्टिङ एशोसिएसनका अध्यक्ष निमबहादुर मगर, महासचिव शिव अधिकारी र खेलाडी लीलाबहादुर गुरुङ, जीवन मगर, प्रदीप मगर र सुनिल गुरुङ हुनुहुन्छ । नेपालसहित २० देशका खेलाडीको सहभागिता रहने उक्त प्रतियोगितामा प्रथम हुने खेलाडीले ५० हजार डलर पाउनेछन् । उक्त प्रतियोगितामा राफ्टिङसम्बन्धी २० खेल हुनेछन् । यसैबीच, पर्यटनन्यूजसँग कुराकानी गर्दै नाराका महासचिव शिव अधिकारीले नेपाली खेलाडिहरुले पहिलो पुरस्कार पाउने दाबी गर्नुभयो । खेलाडीहरुले राम्रो तयारी गरेकोले आफूले त्यस्तो अपेक्षा गरेको उहाँको भनाइ छ । यो प्रतियोगितामा सहभागिता जनाउँदा नेपालमा जल पर्यटनको प्रबद्र्धनमा पनि महत्वपूर्ण योगदान पुग्ने उहाँको दाबी छ ।