आगामी आर्थिक वर्षको बजेटले जनअपेक्षा सम्बोधन हुने अर्थमन्त्री खतिवडाको दाबी

प्रकाशित मिति:

काठमाडौँ -अर्थमन्त्री डा। युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले जनअपेक्षा सम्बोधन हुने दावी गर्नुभएको छ । सरकारका प्रवक्ताको नियमित पत्रकार सम्मेलनमा उपस्थित हुनुभएका अर्थमन्त्री खतिवडाले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, कृषि, उर्जा, सामाजिक सुरक्षा, रोजगारी सिर्जनालगायत क्षेत्रलाई प्राथमिकता दिएको बजेटले नागरिकको तत्कालीन र दीर्घकालीन अपेक्षालाई सम्बोधन गर्ने दावी गर्नुभएको हो ।

सामाजिक सुरक्षा र विकास एकसाथ अघि बढाउने योजनाअनुसार नै आएको बजेट महत्वकांक्षी र वितरणमुखी नरहेको भन्दै उहाँले प्रतिफल दिनेमा शंका नगर्न आग्रह पनि गर्नुभयो ।सांसदमार्फत परिचालन हुने बजेट बढाइएको भन्दै आलोचना खेपिरहनु भएका अर्थमन्त्री खतिवडाले त्यसको विरोधभन्दा दुरुपयोग होला कि भन्नेमा सचेत रहन आग्रह गर्नुभयो । जनप्रतिनिधिलाई विकासबाट विमुख गराउन नहुने भन्दै उहाँले उनीहरुको भूमिका योजना छनोट र अनुगमनमा मात्र हुने भएकाले दुरुपयोग नै हुन्छ भनेर प्रचार गर्न नहुनेमा पनि जोड दिनुभयो ।

हिजो सार्वजनिक गरेको बजेटमा स्थानीय विकास पूर्वाधार कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँ दिने उल्लेख छ । चालु आर्थिक वर्षमा यो रकम ४ करोड थियो । स्थानीय तह र प्रदेश सरकार रहेकाले सांसदलाई दिन नहुने जनआवाजका बीच पनि सरकारले बजेट छुट्याएको हो ।