राष्ट्र संघका महासचिवद्वारा नेपालका उपरथी खरेललाई युएनडीओएफ मिसनमा फोर्स कमाण्डर नियुक्त

प्रकाशित मिति:

एजेन्सी – संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले नेपालका मेजर जनरल (उपरथी) शिवराम खरेललाई युनाइटेड नेसन्स डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स (युएनडीओएफ)को कार्यबाहक मिसन प्रमुख तथा फोर्स कमाण्डरमा नियुक्त गरेका छन् ।

संयुक्त राष्ट्रसंघको कार्यालयबाट जारी गरिएको वक्तव्यमा जनाइएअनुसार घानाका मेजर जनरल फ्रान्सीस भीव सान्जीरीको गएको अप्रिल महिनामा अचानक मृत्यु भएपछि नेपालका खरेललाई सो पदमा नियुक्त गरिएको हो । खरेलको राष्ट्रिय र अन्तर्राष्ट्रिय हिसाबले पनि राम्रो छबि भएको जनाइएको छ ।

उनले हालै युनिफिल लेबनानमा पनि डेपुटी फोर्स कमाण्डरका रुपमा काम गरेका थिए । उनले संयुक्त राष्ट्र संघ अन्तर्गत रहेर सन् २०१२ र २०१३मा पश्चिमी सहारामा जनमत संग्रहका समयमा मद्धत गर्नुका साथै २००५ देखि २००६ सम्म कंगोमा रहेर पनि काम गरेका थिए । फोर्स कमाण्डरले समग्र मिसनमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने हुन्छ । युएनडीएओएफ मिसनले गोलान क्षेत्रमा रहेर इजरायल र सिरिया मामिलालाई हेर्दै आएको छ । सो क्षेत्रमा नेपालका ३२८, फिजीका २३९,भारतका १८०, आयरल्याण्डका १५९ र घानाका ९ जना सैनिक कार्यरत रहेको बताइएको छ ।