चिनियाँ र अमेरिकी टिभी प्रस्तोताको बहस : व्यापार युद्ध व्यवस्थापनको आश

प्रकाशित मिति:

बेइजिङ — बेइजिङ समयअनुसार मे तीस बिहान ८ बजेर २५ मिनेट जाँदा सुरु भएकाे चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) की सञ्चालिका लिउ सिन र अमेरिकी फक्स फाइनान्सियल च्यानलकी प्रस्तोता ट्रिश रेगनबीचको प्रत्यक्ष बहसलाई लिएर चीनमा तरंग फैलएिको छ।

लामो समयदेखि व्यापारिक संघर्ष मत्थर पार्न दुवै देशबीच भएका चरण–चरणका वार्ताहरू विफल भैरहेका बेला यी दुई देशकी प्रस्तोताले गरेको व्यापारिक बहसले सम्बन्ध सुदृढीकरणको एउटा आँखीझ्यालको काम गरेको चिनियाँ सञ्चारमाध्यमहरूले व्याख्या गरेका छन्।

यी दुई प्रस्तोताले स्वतन्त्र व्यापार, बौद्धिक सम्पदा अधिकार, भन्सार कर, विकासोन्मुख मुलुकहरूमा चीनको स्थान आदि विषयबारे १६ मिनेट जति बहस गरेका थिए। चिनियाँ प्रस्तोता लिउले चीन–अमेरिका व्यापारिक द्वन्द्वबारे धारणा राखिन् भने फक्सकी ट्रिशले विकासोन्मुख मुलुकको विकासप्रति ध्यानाकर्षण गरिन्।

चीन–अमेरिका व्यापारिका वार्ता विफल भएर दुवै देशले करको सीमा बढाइरहेका बेला फक्सकी प्रस्ताेता ट्रिशले सोधेको प्रश्नमा चिनियाँ प्रस्ताेता लिउले भनिन्, ‘अमेरिकाले सदिच्छाका साथ चिनियाँ वार्ताकारलाई सम्मानपूर्वक हेर्ने हो भने वार्ताले राम्रो नतिजा ल्याउन सक्छ। व्यापारिक द्वन्द्व चीन–अमेरकिा दुवैका लागि हितकर छैन।’

चीन र अमेरिकाका दुई सञ्चालिकाबीचको टेलिभिजन बहसलाई लिएर आपसी सम्मान, सामान आदान–प्रदान र गलत बुझाइको अन्त्यजस्ता शब्दहरू बढी समेटिएको चिनियाँ मिडियाहरूको विश्लेषण छ। दुवै देशले प्रतिकारकाे सट्टा संवाद र समानता हुनुपर्ने कुरा दुई सञ्चालिका बीचको बहसमा उठाएका प्रमुख विषय हुन्। अन्तर महादेशीय टिभी बहस गरिएपछि प्रतिक्रिया दिँदै लिउले बेइजिङमा भनिन्, ‘चीन अमेरिका व्यापारिका संघर्षमा मैत्रीपूर्ण समझदारीको आवश्यकता छ।’

चाइना डेली अनलाइनका अनुसार ट्रिशले लिउलाई सहभागिताका लागि धन्यवाद दिइन्। उनले भनिन्, ‘यो कुराकानीबाट धेरै लाभान्वित भएको ठानेकी छु। फेरि पनि लिउ सिनलाई आफ्नो शोमा सहभागतिाका लागि निमन्त्रणा गर्न इच्छुक छु।’

विश्वका विभिन्न सञ्चारमाध्यमहरूले पनि चीन र अमेरिकी सञ्चालिकाहरूले यसरी बहस गरेको टेलिभिजन इतिहासमै अभूतपूर्व घटना भएको बताएका छन्। प्रस्तोता ट्रिशले अमेरिकी टेलिभिजन इतिहासमै नौलो घटना भएको र अमेरिकाले चीनको फरक विचार सुन्ने मौका पाएको प्रतिक्रिया दिइन्।

बहस हेरिसकेपछि अमेरिकी विद्वानले एक राम्रो शुरुवात भएको प्रतिक्रिया दिएका छन्। अमेरिकी थिंक ट्याङ्क चीन–अमेरिका अध्ययन केन्द्रका विद्वान सौरभ गुप्ताले भने, ‘चीनप्रति अमेरिकाको बुझाई धेरै नै गलत छ। दुईजना सञ्चालिकाको वार्ता एक राम्रो शुरुवात र गलत बुझाइ हटाउनका लाग हितकर हुने विश्वास छ।’