अबको प्रधानमन्त्री अध्यक्ष प्रचण्डः वामदेव

प्रकाशित मिति:

प्युठान – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन हुने बताएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताकै क्रममा सरकारको नेतृत्व आलोपालो गरेर गर्ने सहमति भएको भन्दै नेता गौतमले त्यसबाट दायाँबायाँ हुन नहुने बताए। सहमतिबाट दायाँबायाँ भए पार्टी एकता बिथोलिने उनको भनाइ थियो ।

शुक्रबार प्रेस संगठन प्यूठानले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गौतमले सहमति पूर्ण रुपमा पालना हुने विश्वास व्यक्त गरे । ‘सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिन्छ’, उनले भने, ‘त्यसैले जे सहमति भएको हो, त्यो पालना हुन्छ, कसैले उल्लंघन गर्दैन भन्नेमा म ढुक्क छु ।’

नेता गौतमले सहमति अनुसार अबको प्रधानमन्त्री अध्यक्ष प्रचण्ड बन्ने दावी गरे – केही दिनअघि अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको र आफू प्रधानमन्त्री बन्ने दावी गरेका थिए । नेता गौतमले एकता प्रक्रिया देखिनै प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री एक पद छाड्नुपर्ने बताउँदै आएका थिए । पार्टी एकतापछि गौतम अध्यक्ष प्रचण्डको नजिक देखिएका छन् ।