४६ घरधुरीका लागि पानीघाट लघुजल विधुत सन्चालनमा

प्रकाशित मिति:

हावाबाट उत्पादिन वायु उर्जा बन्द भएपछि हुप्सेकोट गाउंपालिका ५ धौवादीको बतासे डांडामा हुप्सेकोट गाउंपालिकाको सहयोगमा यस क्षेत्रका ४६ घर बासिन्दालाई लक्षित गरी पानीघाट लघुजल विद्युत सञ्चालनमा आएको छ । यहां करिब ३ महिना अघिदेखि वायु उर्जा बन्द भएको छ । केही दिन अघिबाट लघुजलविद्युत सञ्चालनमा आएपछि तीन महिनादेखि अध्यरोमा बस्दै आएका बासिन्दा उज्यालोमा बस्न पाएका छैन । पानीघाट लघुजलविद्युत उपभोक्ता समितिका अध्यक्ष गोमबहादुर आलेका अनुसार अहिले एउटा टरवाइनबाट २ किलोवाटको विद्युत उत्पादन गरी ४६ घरलाई विजुली पुर्याइएको छ । यो परियोजना खानेपानी सहित हुप्सेकोट गाउंपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा आएको हो ।

२०६८ सालबाट हावाबाट विद्युत उत्पादन गरि सञ्चालनमा आएको हुप्सेकोट गाउंपालिका ५ धौवादीको हुरहुरे डांडा सञ्चालित वायु उर्जा अहिले बन्द भएको छ ।

दुई वटा टरवाइ मध्ये एउटा पहिले नै विग्रिएको र एउटा मात्र सञ्चालनमा रहेको भएपनि अहिले इन्भटर (युपिएस) नै विग्रिएपछि उत्पादन ठप्प भएको हो । यहां ४६ घरले वायुउर्जाबाट विजुली बाल्दै आएका थिए । इन्भटर विग्रिएको र इन्भटर ल्याएको सुकाम कम्पनीका डिलरलाई पटक पटक भन्दा पनि मर्मत गर्न नपाएपछि वायु उर्जा बन्द भएको स्थानीय बासिन्दा एवम् पानीघाट लघुजलविद्युत उपभोक्ता समितिका अध्यक्ष गोमबहादुर आलेले बताए ।

यहां वायुबाट १० किलोवाट र सोलरबाट २ किलोवाट गरी १२ किलोवाटको विद्युत उत्पादन क्षमता रहेको छ ।अहिले लघुजलविद्युतबाट उत्पादन गरिएको २ किलोवाट मात्र सञ्चालनमा आएको छ ।