भारतमा जयशङ्कर मन्त्री हुँदा नेपालमा किन तरङ्ग

प्रकाशित मिति:

भारतमा पूर्वविदेश सचिव एस जयशङ्कर विदेश मन्त्री बनेपछि त्यसप्रति नेपालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्। दोस्रो संविधानसभाले संविधान जारी गर्नुअघि भारत सरकारका विशेषदूतको हैसियतमा काठमाण्डू आएका जयशङ्करले संविधान जारी गर्ने मिति पर धकेल्न सरकारलाई आग्रह गरेको बताइन्छ। तत्कालीन सरकार तथा प्रमुख प्रतिपक्षी दलले भारतीय आग्रहलाई ठाडै अस्वीकार गरेपछि रुष्ट बनेको दक्षिणी छिमेकीले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको धेरैको बुझाइ छ। एकातिर विनाशकारी भूकम्पपछि नेपालले उठ्ने कोशिश गरिरहेको थियो भने अर्कातिर तराई केन्द्रित दलहरू संविधानका कतिपय विषयवस्तुमा असहमति जनाउँदै आन्दोलनमा थिए।

नेपालमा भारतको निर्वाचन परिणामप्रति किन धेरै चासो भारतमा नरेन्द्र मोदीको जित, अब के? अघोषित नाकाबन्दीका योजनाकार? भूकम्पअघि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तकण्ठले प्रशंसा गरेका धेरै नेपालीले अघोषित नाकाबन्दीपछि उनको चर्को आलोचना गर्न थाले।

र, अझै पनि कतिपयले तत्कालीन विदेश सचिव जयशङ्करलाई अघोषित नाकाबन्दीका ‘योजनाकारमध्येका एक’ मान्ने गरेका छन्। दोस्रो पाँच वर्षे कार्यकालका लागि बिहीवार साँझ सङ्घीय राजधानी नयाँ दिल्लीमा शपथ लिएपछि आफ्नो मन्त्रिमण्डलका सदस्यलाई शपथ दिलाउने क्रममा मोदीले जयशङ्करलाई पनि शपथ दिलाए। मोदीको शपथ ग्रहण समारोहमा अतिथिका रूपमा निम्तो पाएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली हाल दिल्लीमै छन्। नयाँ दिल्लीमा जयशङ्करले शपथ ग्रहण गरिरहँदा त्यहाँदेखि करिब साढे ११ सय किलोमिटर टाढा रहेको काठमाण्डूमा पनि त्यसबारे चर्चा हुन थाल्यो। राजनीतिक दलका नेतादेखि पूर्वप्रशासक र सर्वसाधारणसम्मले त्यसबारे सामाजिक सञ्जालमा चिन्ता र चासो व्यक्त गर्न थाले।

नेपाल नीति बदलिएला? धेरैको चासो जयशङ्कर विदेशमन्त्री भए भारतको नेपाल नीति कस्तो होला भन्ने नै देखियो। तर प्रश्न उठ्छः के नेपालमा एस जयशङ्करलाई लिएर व्यक्त भइरहेका चिन्ता र चासो जायज छन् अथवा आवश्यकताभन्दा बढी नै चासो दिइँदैछ? जयशङ्कर मन्त्री भएको विषयलाई नेपालमा आवश्यकताभन्दा बढी नै चासो दिइएको भारतका लागि नेपालका एकजना पूर्वराजदूत लोकराज बरालको ठम्याइ छ।

उनी भन्छन्, “एस जयशङ्कर विदेशमन्त्री भएमा पनि भारतको अहिलेकै नेपाल नीतिले निरन्तरता पाउँछ र हुने भए पनि अलिअलि परिवर्तन होला जस्तो मलाई लाग्छ।” “यस्तै छ हामी आफ्नो आत्मविश्वास गुमाउने, आफू सक्षम नहुने र अरूका एउटा कर्मचारी परिवर्तन हुँदा, राजदूतले केही बोल्दा पनि चर्चा गर्न थाल्छौँ।” भारतीय मामिलाका जानकार पत्रकार युवराज घिमिरे पूर्वविदेश सचिव जयशङ्करलाई नेपालविरोधी व्यक्तिका रूपमा प्रस्तुत गर्नुको कुनै तुक देख्दैनन्। घिमिरे भन्छन्, “उनी भारत सरकारका विशेषदूतका रूपमा आफूलाई अह्राइएको काम लिएर नेपाल आएका थिए। त्यसैले जयशङ्करलाई नेपालविरोधी व्यक्तिका रूपमा चित्रित गर्नुको अर्थ छैन।”

उनको विचारमा जयशङ्करप्रति नेपालमा व्यक्त भइरहेका प्रतिक्रिया ‘निष्पक्ष’ र ‘वस्तुनिष्ठ’ छैनन्। तत्कालीन माओवादीसँग नेपालका दलहरूले १२ बुँदे सहमतिमा हस्ताक्षर गरेको बेलामा भारतका नेताप्रति ‘समर्पण भाव’ देखाएको घिमिरेको आरोप छ। “त्यसले स्वाभाविक रूपमा भारतलाई हामीले भनेका कुरा नेपालका नेताहरू मान्छन् भन्ने जाँच्ने एउटा तरिका भयो,” घिमिरे थप्छन्। को हुन् एस जयशङ्कर? एस जयशङ्करले आफ्ना बुवा सुब्रमण्यमबाट विरासतमा कूटनीतिक दक्षता पाएका हुन्। उनको नाम भारतका प्रमुख रणनीतिक विश्लेषकहरूको पङ्क्तिमा आउँछ।

मोदीको नयाँ मन्त्रिमण्डलमा जयशङ्करले विदेशमन्त्रीको जिम्मेवारी पाएका छन्। मोदी नेतृत्वको सरकारले सन् २०१५ मा तत्कालीन विदेश सचिव सुजाता सिंहलाई हटाएर जयशङ्करलाई नियुक्त गरेको थियो। जयशङ्करले राजनीतिशास्त्रमा एमफिल गरेका छन् भने जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन्। परमाणु कूटनीतिमा उनको विशेषज्ञता छ। विदेश सेवामा सन् १९७७ को ब्याचका जयशङ्करको पहिलो नियुक्ति रुसस्थित भारतीय दूतावासमा रह्यो। विदेश मन्त्रालयको उपसचिव पद सम्हाल्नुका साथै उनी संयुक्त राज्य अमेरिकाका लागि भारतीय दूतावासका प्रथम सचिव पनि रहिसकेका छन्।

त्यसपछि उनले जापान र चेक गणतन्त्रमा भारतीय राजदूत पद सम्हाले। उनी चीनका लागि पनि भारतीय राजदूत रहिसकेका छन्। चीनसँग सम्वादमार्फत् डोकलाम गतिरोध अन्त्य गराउनमा जयशङ्करको ठूलो भूमिका रहेको बताइन्छ। भारत-अमेरिका गैरसैनिक परमाणु सम्झौता बारेको वार्तामा पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। यसै वर्ष उनी पद्‌मश्री सम्मानबाट पनि सम्मानित भए।

मोदीसँग नजिक – मोदी नेतृत्वको मन्त्रिपरिषद्‌मा जयशङ्कर एक मात्र गैरराजनीतिक व्यक्ति हुन्। बाहिरका मान्छेहरूले सरकारमा जयशङ्करको प्रवेशलाई आश्चर्यका रूपमा लिए पनि उनी मोदीका नजिकका पूर्वप्रशासक हुन्। त्यसको पुष्टि यो कुराबाट पनि हुन्छ कि विदेश सचिवका रूपमा सन् २०१७ मै उनको कार्यकाल सकिने भए पनि त्यसलाई सन् २०१८ सम्म बढाइयो। सन् २०१८ सम्ममा लगभग प्रत्येक विदेश भ्रमणमा उनी मोदीको भ्रमण दलमा हुन्थे। सन् २०१८ मा अवकाश पाएपछि एस जयशङ्करले टाटा समूहको विश्व कर्पोरेट मामिलाका अध्यक्षका रूपमा पनि काम गरेका छन्।– बिबिसी