अन्तर्राष्ट्रिय गुणस्तर पाउने पहिलो कार्यालय बन्यो रुपन्देही जिल्ला प्रशासन

प्रकाशित मिति:

बुटवल – जिल्ला प्रशासन कार्यालय रुपन्देही अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो प्रशासन कार्यालय बनेको छ। जिल्लामा सुरक्षा प्रदान, नागरिकता वितरण, राहदानी वितरण, गैरसरकारी संस्था दर्ता, नवीकरण, अनुगमन, पत्रपत्रिका तथा छापाखाना दर्ता, नेतृत्व, बजार अनुगमन, विपद् व्यवस्थापनलगायत मापदण्डानुरुप सेवा प्रवाह गरेकामा अन्तर्राष्ट्रिय गुणस्तर संगठनले उक्त प्रमाणपत्र प्रदान गरेको हो। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मे २८ तारिखमा गुणस्तर प्रमाणपत्र पाएको हो।

गृहमन्त्रालयसँग अनुमति लिएर अनलाइनमार्फत आइएसओ ९००१ : २०१५ को लागि आवेदन भरिसकेपछि अन्तर्राष्ट्रिय गुणस्तर संगठनको नेपाल प्रतिनिधिले प्रशासन कार्यालय पुगेर गोप्य तरिकाले अनुगमन गरेर गुणस्तर प्रमाण पत्र प्रदान गरेको जानकारी प्रशासनले दिएको छ। उक्त प्रमाण पत्रको म्याद सन् २०२२ मे २५ सम्म रहेको छ भने सन् २०२० मे २६ र सन् २०२१ मे २४ मा संगठनको प्रतिनिधिले प्रशासनको निरीक्षण गर्ने छ। प्रशासन कार्यालय लाई व्यवस्थित गराएर सुन्दरीकरण गरी सेवाग्राहीलाई सहजपूर्ण बातावरण सिर्जना गरेको भन्दै उक्त गुणस्तर प्रदान गरिएको हो।

प्रशासनले छोटो समयमै प्रशासनमा थुप्रै सुधारका काम गरेको छ। प्रशासनभित्रै बगैंचा, गोलघर, प्राथमिक उपचार कक्ष, पुस्तकालय, अभिलेखीकरण कम्प्युटराइज, स्तनपान कक्ष, सुरक्षा सूचना केन्द्र, सेवाग्राहीलाई टोकन सिस्टम, काम पूर्व राष्ट्रिय गान सुरू गरेर सेवा प्रवाह गर्ने लगायत व्यवस्था गरेको छ। सेवाग्राहीलाई निशुल्क चिया कफी, चिसो तातो पानी पनि दिँदै आएको छ। जिप्रका रुपन्देहीमा आयोजित कार्यक्रममा ‘आइएसओ ९००१ : २०१५’ प्रमाणपत्र अनावरण गर्दै प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने देशकै पहिलो प्रसासन कार्यालय बन्नु गौरवको विषय भएको बताए। मगरले कर्मचारीको लगनशीलता, कार्यकुशलता र गुणस्तरप्रतिको सचेतनाका कारण उपलब्धि हासिल भएको बताउँदै प्राप्त उपलब्धि जोगाउन र अझ उच्च स्थानमा पुग्ने लक्ष्यका साथ काम गर्न प्रशसनका कर्मचारीलाई निर्देशन दिएको बताए।

‘जिल्ला प्रशासन कार्यालयले अझै धेरै काम गर्न बाँकी रहेको छ। गुणस्तर प्रमाणपत्रले आफूहरूलाई थप चुनौती थपिएको छ’ उनले भने। सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले गुणस्तरीय ब्यवस्थापनको परिणामस्वरुप प्रशासनले उक्त प्रमाणपत्र पाएको बताउँदै त्यसबाट अन्य प्रशासन कार्यालयलाई पनि प्रेरणा मिलेको विचार व्यक्त गरिन्। प्रशासन कार्यालयले अन्तर्राष्ट्रियस्तरको गुणस्तर प्राप्त गर्नु प्रतिष्ठाको विषय भएको बताउदै त्यसलाई कायम राख्न चुनौती थपिएको बताइन्।