असान्जमाथि मानसिक यातना दिइएको दाबी

प्रकाशित मिति:

लन्डन, एजेनसी -विकिलिक्सका संस्थापक तथा अमेरिकाको संवेदनशील दस्तावेज सार्वजनिक गरेको अभियोग लगाइएका जुलियन असान्जलाई लामो समयसम्म मानसिक यातना दिइएको संयुक्त राष्ट्रसंघका यातना विशेषज्ञले शुक्रबार बताएका छन्।

विशेषज्ञ निल्स मेल्जरले बेलायतलाई असान्जको मुलभूत मानव अधिकार हनन हुने गरी स्विडेन समक्ष सुपुर्दगी नगर्न अनुरोध गरेका छन्। विगतमा असान्ज बेलायतको राजधानी लन्डनस्थित इक्वेडरको दूतावासमा राजनीतिक शरण लिएर बसेका थिए। निल्सले असान्जको मामिलामा भनेका छन्, ‘असान्ज मानसिक रुपमा आफूविरुद्धको मुद्दाको सामना गर्ने स्थितिमा नै छैनन्। विश्वका थुप्रै प्रजातान्त्रिक मुलुकले असान्जको इच्छालाई तोड्ने यथासम्भव प्रयास गरेका छन्। यता बेलायत सरकारले भने उनलाई गरिएका थुप्रै निगरानीप्रति आफ्नो असन्तुष्टि रहेको जनाएको छ। बेलायतको न्याय मन्त्रालयका प्रवक्ताले बेलायतले कहिल्यै पनि उनलाई यातना दिने कोसिस नगरिएको स्पष्ट पारेका छन्। साथै उनले न्यायाधीशहरू कानुनी मामिलामा सरकारको हस्तक्षेपबाट स्वतन्त्र रहने र अभियोग लगाइएका जोसुकैले त्यसविरुद्ध अपिल गर्न सक्ने पनि बताएका छन्।

यौन उत्पीडनको अभियोगमा आवश्यक कारबाही अघि बढाउनका लागि ४७ वर्षीय असान्जलाई स्विडेन फर्काउन दबाब परिरहेको छ। साथै उनलाई सरकारी गोपनियता भंग गरेको अभियोगमा मुद्दा चलाउन संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गराउने विषय पनि विचाराधीन अवस्थामा रहेको छ।

सन् २०१२ मा यसरी सुपुर्दगी गरिने डरले उनले इक्वेडर दूतावासमा शरण लिएका थिए। यसै वर्षको शुरुमा जमानतको विषयलाई लिएर बेलायती प्रहरीले पक्राउ गरी थुनामा राख्नुअघिसम्म पनि उनी सोही दूतावासमा रहेका थिए। मे महिनाको शुरुमा असान्जसंग भेटवार्ता गरेका मेल्जरले असान्ज मुद्दा सामना गर्न इच्छुक नदेखिएको वासिंगन पोस्टलाई बताएका छन्।