धुर्मुस भन्छन्- बनावटी कुरा गरेको भए यही मैदानमा झुण्डिन तयार छु

प्रकाशित मिति:

चितवन- सुरक्षा प्रत्याभूति नभएको भन्दै निर्माण कार्य रोकिएको चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगाशालाको निर्माण कार्य पुनः सुचारू भएको छ। शनिबार बिहान धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’, सचिव एवम् प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, विभिन्न टोल विकास संस्था तथा स्थानीयको उपस्थितिमा पुनर्निर्माण सुचारु गरिएको हो।

जेठ १५ गते नेकपाका स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वमा गएको टोलीले रंगाशालाको पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काइदिएपछि फाउण्डेसनले आवश्यक सुरक्षा प्रत्याभूतिबिना काम गर्न नसक्ने भन्दै निर्माण कार्य स्थगित गरेको थियो। तर, अहिले स्थानीय राजनीतिक दल, प्रशासनिक अंग, महानगर तथा सबैको साथ र सहयोग पाउने एवम् आगामी दिनमा त्यस्ता क्रियाकलाप दोहोरिन नदिने प्रतिबद्धतासँगै शनिबारबाट रंगशालाको निर्माण कार्य सुचारू गरिएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताए। निर्माणधीन रंगाशाला मैदानमा भएको अनौपचारिक कार्यक्रममा रंगाशाला क्षेत्र आसपासका स्थानीयलाई प्रष्ट पार्दै धुर्मुसले आफूले गलत कुरा बोलेको प्रमाणित भए मैदानमै झुण्डिन तयार रहेको बताए। ‘यदि मैले बनावटी कुरा गरेको भए म यही मैदानमा झुण्डिन तयार छु।,’ उनले भने, ‘म हत्तपत्त रूने मान्छे होइन, यो घटनामा म रोएँ। कसैलाई लाग्ला नाटक गर्न रोयो। तर यसपटक मेरो मन रोयो। यो सिंगो नेपालीको मन रोएको हो।’

फाउण्डेसनले अहिलेसम्म इमान्दारितापूर्वक काम गर्दै आएको दाबी गरेका उनले सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी आइरहेको भन्दै फाउण्डेसनभन्दा बढी रामपुरबासी नै दुःखी भएको बताए। ‘यो घटनाले हामीभन्दा तपाइँहरू नै बढी दुःखी हुनुभएको छ। हामी त पाहुना मात्र हौँ,’ धुर्मुसले भने, ‘किनकि हामी यहाँ हाम्रो घर बनाउन आएका होइनौँ, लिन आएका होइनौँ, दिन आएका हौँ।’

उनले निर्माणकार्य थाल्नु पहिले स्थानीय देखि सबै अगुवासँग छलफल गरेको जिकिर गर्दै सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणी भएको दाबी गरे। ‘हिजो डोजर चलाउनेदेखि यहाँका सबै स्थानीयलाई हामीले छलफल गरेरै काम गरिरहेका छौँ। तर, सामाजिक सञ्जालमा हामीलाई सोधिएन, हाम्रो इच्छा विपरित काम भयो भन्ने खालका कुराहरू आइरहेका छन्। तर, हामीले हरेकलाई छलफलमा ल्याएका छौँ।,’ धुर्मुसले भने, ‘यहाँ रंगाशालामा डोजर चलाइयो, त्यो हामीमाथि भएको प्रहार होइन, यो त विकासमाथि प्रहार भएको हो।’

उनले निर्माणका क्रममा आउने यस्ता व्यवधानमा स्थानीयबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताए। देशको लागि पीडा सहेर खेल खेल्दै आएका दाजुभाइको लागि मैदान बनाउन आएको उनको भनाइ छ। सो क्रममा बोल्दै चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद पोखरेलले आगामी दिनमा यस्ता घटना हुन नदिने प्रतिबद्धता जनाए। ‘एक/दुई जनाले गल्ती गरे पनि सबैबाट गल्ती हुँदैन, यसकारण म काम नरोक्न आग्रह गर्दछु।,’ पोखरेलले भने।

भरतपुर महानगरकी मेयर दाहालले अन्तर्राष्ट्रिय रंगशाला बन्नु देशकै गौरवको विषय भएकोले निर्माण कार्यमा व्यवधान सिर्जना गर्न हुने तर्क गरिन्। कार्यक्रममा विभिन्न टोल सुधार समितिका प्रतिनिधि तथा स्थानीयहरुले ‘रंगाशाला निर्माण गर्नुपर्छ’ लेखिएका प्लेकार्डसहित कार्यक्रममा उपस्थिति जनाएका थिए। रंगशालाको निर्माण कार्य रोकिएको घटनाले विश्वभर रहेका नेपालीसामु नकारात्मक सन्देश फैलिएको भन्दै सकारात्मक सन्देश दिन शनिबार स्थानीयबाटै आर्थिक संकलनसमेत भएको छ।