समृद्धि र विकास अबको आवश्यकता : प्रधानमन्त्री ओली

प्रकाशित मिति:

पोखरा – प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि र विकास अबको आवश्यकता भएको बताउनुभएको छ । नेपाल स्काउटको आज यहाँ शुरु भएको स्काउट युवा सम्मेलन(रोभर मुट)को उद्घाटन गर्दै उहाँले राजनीतिक अधिकारको आन्दोलन सम्पन्न भएकाले अबको यात्रा समृद्धि र विकासका लागि भएको बताउनुभयो ।

देशको समग्र उन्नयनका लागि सङ्कृणताबाटमाथि उठ्नु अपरिहार्य भएको बताउँदै उहाँले राष्ट्र निर्माणका लागि कर्तव्यनिष्ठ र जिम्मेवार युवाको आवश्यकता रहेको उल्लेख गर्नुभयो । युवाहरूको दक्षता, क्षमता अभिवृद्धिका साथै उनीहरूलाई कर्तव्यनिष्ठ र जिम्मेवार बनाउने अभियान नै स्काउट रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले यो राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय रुपमा चलेको अभियान भएको बताउनुभयो ।

गौरवशाली पूर्खाको इतिहास र योगदानलाई अघि बढाएर तिनीहरूको संरक्षण गर्दै नयाँ निर्माणमा लाग्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । सभ्यता र संस्कृति जोगाउँदै समृद्धि तर्फ देश अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ । देशलाई अस्थिर बनाउन एकतालाई भाड्ने शक्ति सक्रिय रहेको उल्लेख गर्दै उहाँले जातीय, क्षेत्रीय सङ्कुचनबाट सकारात्मक सोचका साथ माथि उठ्नुपर्नेमा जोड दिनुभयो ।

स्काउटले युवामा सकारात्मक सोचका साथै उनीहरूका क्षमता, दक्षता अभिवृद्धि गराउन महत्वपूर्ण योगदान गर्दै आएको चर्चा गर्दै उहाँले राष्ट्र निर्माणमा अनुशासित र जिम्मेवार युवाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

युवा तथा खेलकूदमन्त्री एवं प्रथम स्काउट जगतबहादुर विश्वकर्माले युवालाई सकारात्मक मार्गमा अघि बढाउन स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले ज्ञान, खेललगायतका अनेक क्षेत्रमा युवालाई सक्रिय गराउँदै स्काउटले उनीहरूलाई अनुशासित, कतव्यनिष्ठ बनाउन विशेष योगदान गरेको स्मरण गर्नुभयो । युवा वर्गबाट देशले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले युवामा राष्ट्रिय भावनाको विकास गराउँदै राष्ट्र निर्माण अभियानमा सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवाहरूको यो सम्मेलनले युवाबीच अनुभव आदानप्रदानका साथै सिर्जनात्मकताको विकासमा विशेष सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो । सम्मेलनमा १६ देखि २५ वर्ष उमेरका युवा स्काउटको सहभागिता छ । नेपालसहित १४ देशका लगभग पाँच हजार स्काउट युवा सहभागी छन् ।

स्काउटका माध्यमबाट विभिन्न जाति, भाषा, धर्म, संस्कृति र भूगोलका युवायुवती एउटा नारा र उद्देश्यसाथ एकै स्थानमा सहभागी रहेको स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताउनुभयो । सम्मेलनबाट उनीहरूबीच सांस्कृतिक आदानप्रदान, भ्रातृत्व र भगिनित्व विकासमा योगदान पुग्ने विश्वास लिइएको छ । उक्त अवसरमा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।