रामचन्द्र पौडेलको प्रश्न : पानीजहाज भन्दै नदीनाला भारतलाई बुझाउने कस्तो ओली राष्ट्रवाद ?

प्रकाशित मिति:

सुर्खेत – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम तानाशाह बन्नेतर्फ केन्द्रित भएको आरोप लगाएका छन् । जागरण अभियानको क्रममा सुदूरपश्चिमका ९ जिल्लामा पुगेर शनिवार सुर्खेत आइपुगेका नेता पौडेलले चुनाव जितेर आएका सबै लोकतान्त्रिक नहुने बताउँदै ओलीको चाहना तानाशाह बन्नेतर्फ उन्मुख भएको बताए ।

‘हिटलरले पनि चुनाव जितेर नै आएका हुन्,’ उनले भने, ‘संघीयता विपरीत, संविधान विपरीत काम गर्दै गइरहेका छन् । सबै अधिकार आफैंतर्फ केन्द्रित गरेका छन् । न्यायालय, संवैधानिक निकायमाथि हस्तक्षेप गरिनु यसैको प्रारम्भिक चरण हो ।’

उनले नेकपाको दुईतिहाइको सरकारले जनताका मतको दुरुपयोग गरेको आरोप लगाए । चुनावमा नेकपाले देखाएका सपना विपरीत कार्य गर्दै गइरहेको बताए । ‘हिजो चुनावमा जाँदा कम्युनिस्टले जुन सपना बाँडेका थिए ती सपना पूरा भएका छैनन् । ती सपना पूरा गर्ने बाटोमा सरकार हिँडेको छैन,’ नेता पौडेलले भने, ‘२ वटा बजेट ल्याएको सरकारले जनताले अनुभूति गर्ने खालका कुनै पनि कार्यक्रम ल्याएको छैन । आगामी दिनमा पनि सरकारले जनताको काम गर्ने छैन ।’

नेता पौडेलले सरकारले अहिले पनि स्थानीय तह र प्रदेश सरकारलाई अधिकार नदिएको बताए । ‘गाँउमा सिंहदरबार आयो भनेर प्रचार गरिएको छ,’ उनले भने, ‘अहिले पनि केन्द्रबाटै बजेट दिने गरी केन्द्रिकृत शासन गर्न खोजिएको छ । यसरी संघीयता कसरी कार्यान्वयन हुन्छ ?’ उनले सांसदलाई करोडौं बाँडेर उपभोक्ता समिति बनाई भ्रष्टाचार गर्ने मनसाय रहेको आरोप लगाए ।

नेपालमा तत्काल पानीजहाजको आवश्यकता नै नभएको उनले बताए । ‘केपी ओलीले पानीजहाजको सपना देखाएका छन् । यहाँ जनताले सिँचाइ गर्न पाएका छैनन् । खानेपानी पाएका छैनन्,’ उनले भने, ‘कांग्रेसले बनाएको कर्णाली राजमार्ग सुधार गरे के बिग्रन्थ्यो ?’ पानीजहाज ल्याउने भनेर भन्नुको पछाडि ठूलो स्वार्थ लुकेको उनको आरोप छ । ‘नेपालका सबै नदीनालाको पानी एकै ठाउँमा जम्मा गर्ने र भारतलाई बुझाउने यो कस्तो ओली राष्ट्रवाद हो ?’ उनले प्रश्न गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले गाउँपालिका तथा नगरपालिका स्तरका समिति बन्न किन सकेन भनेर नेतृत्वसँग प्रश्न गरे । ‘अहिलेसम्म किन संघीयता अनुसारका समिति गठन हुन सकेनन् ? पार्टी किन हच्किएको छ ?’ उनले भने, ‘यो अन्यौलता तत्काल हटोस् भन्ने आम कार्यकर्ताको धारणा रहेको छ ।’सदनमा नेपाली कांग्रेस सरकारको सहयोगीजस्तो देखिएको उनको आरोप छ । ‘नेकपाले नेपाली कांग्रेसलाई सदनमा सहयोगी दलको रुपमा लिएको छ,’ उनले भने, ‘बाहिर हामी खुट्टा कमाउँदैनौं, सदनमा हुने साथीहरू खुट्टा नकमाउनुहोस् । जनता नेपाली कांग्रेसप्रति आशावादी छन् ।’