महिला सशक्तिकरणका लागि व्यवहार परिवर्तन तालिम सम्पन्न

प्रकाशित मिति:

बुटवल -महिला सशक्तिकरण नभएसम्म समृद्ध नेपाल बन्न नसक्ने कार्यक्रमका सहभागीहरुले बताएका छन् ।श्रृजनशिल समाज नेपाल,रुपन्देही र बुटवल उपमहानगरपालिका–८ को संयूक्त आयोजनामा संचालित दुई दिने महिला सशक्तिकरणका लागि व्यवहार परिवर्तन सम्बन्धी अभिमुखीकरणमा यस्तो कुरा बताएका हुन् ।

तालिमको समापन सत्रमा बोल्दै बुटवल ८ का वडा अध्यक्ष भिम प्रसाद श्रेष्ठले तालिममा सिकेका सिकाईहरुलाई व्यवहारमा उर्तान र टोल विकास संस्था मार्फत समाज परिवर्तनमा लाग्न सबै सहभागीहरुलाई आग्रह गरे ।श्रेष्ठले समाजमा भएका विकृत्ति र विसंगतिहरुलाई न्यूनीकरण गर्नका लागि टोल विकास संस्थाहरुको महत्वपूर्ण भूमिका हुने भएकोले यस्ता विषयमा सक्रिय भएर लाग्नुपर्ने बताए । लक्षित वर्गहरुले योजना बनाउँदा बजेट राख्ने तर त्यसको परिचालन गर्ने विषयमा कुनै चासो नदेखाएको प्रति चिन्ता व्यक्त गर्दे सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।

समाजमा हुने विभिन्न किसिमका विकृत्तिहरुलाई कसरी समाधान गर्न सकिन्छ र त्यसको लागि टोल विकास संस्थाका पधाधिकारीहरुले के कसरी काम गर्न सक्छन भन्ने उद्देश्यले गरिएको कार्यक्रममा महिला अधिकार के हो, अधिकार र कर्तव्यलाई कसरीसँगसँगै लैजान सकिन्छ, समाजमा के कस्ता खालका सवाल र समस्याहरु हुनसक्छन, त्यसको समाधानको लागि टोल विकास संस्थाको के कस्तो भूमिका हुन सक्छ, मानव अधिकार, महिला अधिकार,स्वास्थ्य अधिकार, कानूनी अधिकार र हिंसामा परे उजुरी प्रकृया के हुन्छ भन्ने विषयमा सहजीकरण गरिएको थियो ।तालिमको सहजीकरण राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं.५ का निर्देशक संझना शर्मा,ईलाका प्रहरी कार्यालय बुटवलका डिएपी डिल बहादुर मल्ल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. शकुन्तला गुप्ता,अधिवक्ता गोमती सुनार दीपा, पत्रकार रीमा बि.सी लगायतले सहजीकरण गरेका थिए ।तालिममा ५६ जना सहभागीहरुको सहभागिता रहेको थियो ।