हवनः धार्मिक विधि र वैज्ञानिक महत्व

१८ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
255 Shares


हाम्रा पितापूर्खाले हवन, यज्ञ गराउँदै आए । हवन, यज्ञ किन गराए ? हामीले यसको अर्थ खोजेनौ । बरु यसलाई पुरातन ढर्रा, आडम्बर, ढोंग मान्यौ । त्यही कारण आज हामी यस्ता विधी विधानलाई तल्याएर बसेका छौ । जबकी कुनैपनि धार्मिक विधी वा संस्कार विकास गर्नुको पछाडि ठूलो रहस्य हुन्छ । यो त्यतीकै लहडमा वा हचुवाको भरमा विकास गरिएको हुँदैन । एक हिसाबले भन्ने हो भने यस्ता धार्मिक विधी भनेका गहिरो खोज र अनुसन्धानको उपज हुन् ।

हामी जे जस्ता धार्मिक विधी गर्छौं, त्यसले मानव जीवन, प्राणी र धर्ती एवं प्रकृतिलाई केही न केही प्रभाव पारिरहेको हुन्छ । यसर्थ हाम्रा पिता पूर्खाले अंगाल्दै आएका यी धार्मिक विधीहरु हामीले लत्याउने होइन, बरु त्यसको वैज्ञानिक अर्थ र महत्व खोज्ने हो ।

अतः यस्ता विधी एवं परम्परालाई आफ्ना पुस्तौ-पुस्ताले अंगाल्दै र आत्मसात गरिरहोस् भनेर यसलाई धर्मसँग जोडिदिए । किनभने धर्मसँग जोडिदिएपछि त्यसलाई मान्छेले अंगाल्नेछन् । निरन्तरता दिनेछन् । यसरी नै हवन एवं यज्ञलाई धार्मिक विधीको रुपमा जोडेर व्याख्या गरेको पाइन्छ ।

हवनको धार्मिक दृष्टिकोण हिन्दू धर्म ग्रन्थमा यज्ञ एवं हवनको अग्नीलाई इश्वरको मुख मानिन्छ । यसमा जे अर्पण वा आहुति गरिन्छ, वास्तवमा ब्रम्हाभोज हो । धर्मग्रन्थमा मनोकामना पुरा गर्नका लागि र नराम्रो घटना टार्नका लागि यज्ञ एवं हवन गरिन्छ । जबकी यो मानव स्वास्थ्य, प्रकृतिसँग जोडिएको एक वैज्ञानिक विधी पनि हो ।

पर्यावरणमा फाइदा विभिन्न अध्ययनबाट के प्रष्ट भएको छ भने, हवन गर्नुको महत्व पर्यावरणको शुद्धतासँग जोडिएको छ । यज्ञ एवं हवन गर्दा त्यसमा थुप्रै किसिमको बनस्पति, अन्न आदिको मिश्रण गरेर आगोमा जलाइन्छ । उक्त आगोबाट फैलने राप र धूवाँले वायुमण्डरमा रहेको ९४ प्रतिशतसम्म किटाणु नष्ट हुन्छ । यसका साथै धूवाँले वातावरण शुद्ध हुन्छ यसले गर्दा वायुको माध्यामबाट फैलने कतिपय संक्रमणको भय रहँदैन ।

यज्ञको महिमा वर्णन गर्दै महषिर् दयानन्दले भनेका छन्, ‘सबैलाई थाहा छ कि दुर्गन्धयुक्त वायु र जलबाट रोग, रोगले प्राणीमा दुःख हुन्छ । जबकी सुगन्धित वायु तथा जलले आरोग्य र रोग नष्ट हुन्छ । प्राणीमा सुख प्राप्त हुन्छ ।’ हवन गर्दा अग्नीमा हालिएको पदार्थ सुक्ष्म भएर वायुमा फैलन्छ, जसले टाढा-टाढासम्मको दुर्गन्ध निवृत्ति हुन्छ । अग्निहोत्रले वायु, वृष्टि, जल शुद्ध हुन्छ । औषधिय शुद्ध हुन्छ । शुद्ध वायुको श्वास स्पर्श, खानपानबाट आरोग्य, बुद्धि, बल पराक्रम बढ्छ । यसलाई धर्मिक शास्त्रले ‘देवयज्ञ’ भनेको छ । किनभने यसले वायु आदि पदार्थलाई दिव्य गरिदिन्छ ।

परोपकारको सर्वोत्तम विधी पनि हो यो । किनभने हामीले हवन लगाउँदा त्यसले चराचर जगत एवं असंख्यौं प्राणीले लाभ लिन्छन् । हामीले हवनमा जुन कुरा आहूति दिन्छौ, त्यसको सुगन्ध वायुमण्डलमा फैलन्छ । र, त्यही वायुमा प्राणीले सास फेर्छ ।

हवनमा आँपको दाउरा, बेल, नीम, पिपलको छाल, आँपको पात, चन्दनको दाउरा, तील, अश्वगन्धाको जरा, कपूर, ल्वाªm, चामल, घिउ, सख्खर, जौ, तील, अलैंची आदि हालिन्छ ।

हवनका लागि गाईको गोबरले बनाइएको स-साना कचौरामा घिउ हालिन्छ । हवनबाट हर प्रकारका ९४ प्रतिशत जीवाणु नष्ट हुन्छ । घर शुद्ध हुन्छ । स्वास्थ्य राम्रो हुन्छ । हवन गरिरहँदा केही मन्त्र पनि जप गरिन्छ । आखिर मन्त्र जप गर्दा के हुन्छ ? हवनका साथ मन्त्र जप गर्दा सकारात्मक ध्वनि तरंगीत हुन्छ । यसले शरीरमा उर्जाको संचार हुन्छ ।

हवनमा आँपको दाउरा प्रयोग गरिन्छ । जब आँपको दाउरा जलाइन्छ, त्यसबाट एक लाभदायक ग्यास उत्पन्न हुन्छ । यसले वातावरणमा रहेको खतरनाक ब्याक्टेरिया र जीवाणु समाप्त हुन्छ । यसका साथै वातावरण पनि शुद्ध हुन्छ । भनिहालौ, गुड जलाउँदा पनि यस्तै लाभदायक ग्यास पैदा हुन्छ । एक अर्को अध्ययन अनुसार आधा घण्टा हवनमा बस्दा र हवनको धूँवा शरीरको सम्पर्कमा आउँदा टाइफाइड जस्ता रोग फैलाने जीवाणु नष्ट हुन्छ ।

हामी कति प्रदूषित वायुमण्डलमा घेरिएका छौ ?  हामीले सास फेर्ने वायुमण्डल शुद्ध छैन । यहाँ धूलो, धुँवाको अति सुक्ष्म कण फैलिएको छ । कल कारखाना, गाडी, फोहोर मैलाको दुर्गन्ध, ढलको दुर्गन्ध आदि फैलिएको छ । वायुमण्डल विषाक्त भएको छ । यस्तो विषाक्त वायुमण्डलमा घेरिएका छौ हामी ।

अर्कोतिर वायु शुद्धिकरण गर्ने विधीहरु अपनाएका छैनौ । कतिपय वनस्पति यस्ता हुन्छन्, जसले वायुमण्डलको विषाक्त वायु शुद्ध गर्छ । जस्तो पिपल, तुलसी जस्ता वनस्पति पनि रोप्ने, हुर्काउने गरिदैन । किनभने हामीलाई यी सारा विधीहरु आडम्बर लाग्छ । जबकी हाम्रा पिता पूर्खाले सदियौंदेखि खोज अनुसन्धानपछि विकास गरेका यी विधीहरुको वैज्ञानिक महत्व र अर्थ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया