वीरेठाँटी—मुक्तिनाथ केबलकार बन्ने

प्रकाशित मिति:

काठमाडौँ – धार्मिक एवं पर्यटकीय स्थल मुक्तिनाथ धामसम्म केवलकार निर्माण हुने भएको छ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म निर्माण गरिने प्रस्तावित सो यात्रुबाहक केवलकारको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य सुरु भएको छ ।
कुल ८३.६५ किलोमिटर लम्बाईको विश्वकै लामो यात्रुवाहक केवलकार हुने दाबी गरिएको छ । प्रस्ताावित केवलकार निर्माणका लागि डीपीआर निर्माण कार्य सुरु भइसकेको जानकारी मुक्तिनाथ दर्शन केवलकार प्रालिका इन्जिनियर बिकास त्वनाबासुले दिनुभयो ।

प्रस्तावित सो केवलकारको डीपीआर निर्माणका लागि अस्ट्रेलियाको विशेष प्राविधियुक्त विमान तीन दिनअघि नेपाल आइपुगेको हो । सोही विमानको सहयोगमा डीपीआरको काम भइरहेको छ । नापी विभाग र निर्माण कम्पनीका प्राविधिकहरूको सहयोगमा डीपीआर निर्माण कार्य भइरहेको उहाँले बताउनुभयो । अबको तीन महिनाभित्र डीपीआर निर्माण कार्य सम्पन्न हुने बताउँर्दै इन्जिनियर त्वनाबासुले डीपीआर निर्माण कार्य सम्पन्न भएको छ महिनाभित्र सरकारसँग परियोजना विकास सम्झौता (पीडीए) हुने जानकारी दिनुभयो । उहाँका अनुसार सम्झौताको छ महिनाभित्र सो केवलकार निर्माणका लागि वित्तीय व्यवस्थापन गरी निर्माण कार्य सुरु गरिने तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गरिने लक्ष्य रहेको छ ।

लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा थप विकसित तुल्याउन मद्दत पुग्ने सो केवलकार निर्माण कार्य समयमा नै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । सो केवलकार निर्माणका लागि यसअघि नै फिजिविलिटी, जियोमेट्रिक लगायतको अध्ययन कार्य सम्पन्न भइसकेको छ । यसअघि भएका अध्ययनले सो केवलकार निर्माणको कुल लागत करिब ५० अर्ब रुपियाँ हुने देखाएको छ । सो केवलकारको वातावरणीय प्रभाव मूल्याङ्कन कार्य समेत अहिले भइरहेको निर्मााण कम्पनीले जनाएको छ । कास्कीको वीरेठाँडीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म केवलकार लाइन विकास तथा सञ्चालनका लागि २०७५ भदौ २७ गते लगानी बोर्डको कार्यालय र मुक्तिनाथ दर्शन केवलकार प्रालिबीच सम्झदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।

लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मुक्तिनाथ दर्शन केवलकार प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले समझदारी पत्रमा हस्तक्षर गर्नुभएको थियो । २०७५ वैशाख १५ गते बसेको लगानी बोर्डको बैठकले केवलकार निर्माण गर्ने प्रस्तावलाई स्वीकृत गरेको थियो । समझदारीपत्र अनुसार, हस्ताक्षर भएको डेढ वर्षभित्र निर्माण कम्पनीले डीपीआर तयार गरी लगानी बोर्डमा पेस गर्नुपर्ने हुन्छ । डीपीआर सकिएको तीन वर्षमा निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

डीपीआर निर्माणको जिम्मा मुक्तिनाथ दर्शन केवलकार प्रालिले पाएको छ ।  १९ वटा स्टेसन रहने प्रस्तावित सो केवलकारको सुरुको पहिलोे स्टेशन कास्कीको वीरेठाँटी वा नयाँपुलमा हुने निर्माण कम्पनीले जनाएको छ । । त्यसैगरी, त्यसपछि क्रमशः टिकेढुङ्गा, घोरेपानी, सिखा, पाखरेबगर, तातोपानी, काभ्रे, घासा, कालोपानी लेते, कोवाङ चोखोपानी, टुकुटे, मार्फा, जोमसोममा स्टेसन प्रस्ताव गरिएको छ । केवलकारको अन्तिम स्टेसन मुक्तिनाथमा हुनेछ । –गोर्खापत्र