नेमारमाथि बलात्कारको आरोप

प्रकाशित मिति:

नेमार हाल फ्रान्सको पिएसजी फुटबल क्लबबाट खेल्दछन्। नेमारले फ्रान्सको राजधानी पेरिसमा एक ब्राजिलियन महिलामाथि बलात्कार गरेको पेरिसका अखबारहरुले जनाएका छन्।

नाम नखुलाइएको महिलाले ब्राजिलको साओ पाउलो प्रहरीमा नेमारले आफूमाथि बलात्कार गरेकोभन्दै उजुरी दर्ता गरेकी हुन्। हालसम्म नेमारले यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन्। उनी हाल कोपा अमेरिकाका लागि ब्राजेलियन टोलीमा व्यस्त छन्। अनुशासनमा कमी देखिएको भन्दै कोपा अमेरिकाका लागि नेमारलाई ब्राजिलको कप्तानबाट समेत हटाइएको थियो।

के छन् आरोपहरु? प्रहरीका अनुसार नेमार र ती महिला इन्स्टाग्राममार्फत भेटेका थिए। ब्राजिलकी ती महिलालाई नेमारले पेरिस आउन भनेका थिए। विमानको टिकट काटिदिएका थिए। फ्रान्सको होटल सोफिटेल पेरिस आर्क डु ट्रोम्फीमा उनीहरु १५ मे मा बसेका थिए। त्यसैबेला मदिराले मात्तिएका नेमारले उनलाई बलात्कार गरेको उजुरीमा उल्लेख छ।

नेमारले महिलाको अस्वीकृतीमा उनीमाथि बलात्कार गरेको जनाइएको छ। महिला त्यस घटनाको २ दिनपछि ब्राजिल फर्किएकी थिइन्। नेमारका पिता नेमार दोस सान्तोषले यो घटना नेमारलाई फसाउन रचिएको वताएका छन्।

समर्थकलाई मुक्का नेमारले गत बैशाख दोस्रो साता फ्रेन्चकपको फाइनलमा पराजित भएपछि समर्थकलाई मुक्का हानेका थिए। उपविजेताको मेडल लगाउन समर्थकको बीचबाट अगाडि बढेका उनले खेल हेर्न आएका दर्शकले भिडियो बनाइदा एकजनाको मोबाइल खोस्दै मुक्का हानेका थिए। उक्त घटनापछि नेमारमाथि ३ खेलको प्रतिबन्ध लागेको थियो।

उक्त घटनाले नेमारको तीव्र आलोचना भएको थियो। फ्रेन्चकपको फाइनलमा रेनेससँगको खेलमा निर्धारित समय २–२ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो। जसमा पिएसजी ६–५ ले पराजित हुन पुगेको थियो।

खोसियो कप्तानी अघिल्लो साता ब्राजिलका राष्ट्रिय टोलीका प्रशिक्षक टिटेले अनुशासनमा कमजोरी देखाउँदै नेमारलाई कप्तानीबाट हटाएका थिए। २७ वर्षीय नेमारलाई हटाएर ३६ वर्षीय ड्यानी आल्भेसलाई ब्राजिलको कप्तानी सुम्पिएको छ।

आगामी महिनाबाट सुरु हुने कोपा अमेरिकाको कप्तानी आल्भेसले सम्हाल्ने छन्।हाल नेमार र आल्भेस फ्रान्सेली क्लब पिएसजीमा आवद्ध छन्। पहिले बार्सिलोनामा समेत नेमार र आल्भेसले सँगै खेलेका थिए। कोपा अमेरिका आगामी जुन १४ देखि ७ जुलाईसम्म संचालन हुनेछ। ब्राजिल समूह ए मा परेको छ। जहाँ ब्राजिलले ग्रुप स्टेजमा बोलिभिया, भेनेजुयला र पेरुसँग खेल्नेछ। एजेन्सी